![](https://publicpati.com/wp-content/uploads/2024/12/IMG-20241228-WA0076.jpg)
दोलखामा एक चिहान नाटक प्रदर्शन गरिने
पब्लिक समाचारदाता
दाेलखा १३पुस
दोलखामा “एक चिहान” नाटक प्रदर्शन गर्ने भएको छ। हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित एक चिहान उपन्यासलाई नाट्य रुपान्तरण गरी जिल्लाका तीन शैक्षिक संस्थामा प्रदर्शन गर्न लागिएको हो।
रोल्वालिङ मिडिया प्रालिको सहकार्यमा पुस १६ देखि २१ गतेसम्म गौरीशंकर बहुमुखी क्याम्पस, जिरी मावि र हनुमन्तेश्वर माविमा नाटक प्रदर्शन गरिने ओजस थिएटरले जनाएको छ। पाठ्यपुस्तकमा समावेश सो उपन्यासलाई नाटकको रुपमा विद्यार्थीहरुलाई लक्षित गरी प्रदर्शन गर्न लागिएको निर्देशक रविन दोङले बताए । सो उपन्यास कक्षा १२ को नेपाली विषयमा समावेश रहेको छ। नाटकबाट मनोरञ्जन सँगै विभिन्न सन्देश ग्रहण गर्न सकिने निर्देशक दोङले बताए। गरिब किसान र मजदुरहरूको जीवनमा आधारित उपन्यास एक चिहानलाई एचबी मगरले नाट्य रुपान्तरण गरेका हुन् ।
उनले नेपाली गरिब किसान र मजदुरको जीवनमा आधारित नाटक एक चिहान सामाजिक यथार्थवादी नाटक रहेको र यसले विसं २०११ आसापासको नेपाली समाजमा रहेको निम्न वर्गीय जीवनका जटिलता र सङ्र्घषलाई चित्रण गर्ने बताए ।
उनका अनुसार नाटकमा विशेष गरी नेवारी समुदायको पारिवारिक परिवेश देखाइएको छ ।नाटकमा प्रजातन्त्र प्राप्तिपछि विस्तारै मौलाउँदै गएको प्रगतिशील सोचको परिवेश, सांस्कृतिक समिश्रण, समावेशी र समानताका लागि आवश्यक परेको तथ्य रुढिवादी तथा अन्धविश्वासले नेपाली समाजलाई नछाडेको वास्तविकता नाटकभित्र अनुकूल घटनाक्रम र स्वभाविक पात्रको परिवेश देखाउन खोजिएको छ । एक चिहान विद्यालय तहको पाठ्यक्रममा समेत समावेश गरिएको उपन्यास भएकाले उपन्यासको नाट्य रुपान्तरणले विशेष गरेर विद्यार्थी लाभान्वित हुने उनको भनाइ छ ।
साहित्यकार हृदयचन्द्रसिंह प्रधान (विसं १९७२–२०१६) नेपाली साहित्यका उपन्यास, नाटक, निबन्ध, समालोचना कथा व्याकरणजस्ता वाङमयका विविध क्षेत्रमा कलम चलाउने बहुमुखी व्यक्तित्व थिए । उनका साहित्यको उपन्यास विधामा स्वास्नी मान्छे (२०१५) र एक चिहान (२०१७) गरी दुई मात्र कृति प्रकाशित छन् । यी उपन्यासका माध्यमबाट प्रधानले लेखनकालीन नेपाली समाजका नारीले भोग्नुपरेका यातना, किसानमाथिको आर्थिक शोषण, सामाजिक अन्धविश्वास र त्यस प्रकारका विकृतिबाट मुक्तिको मार्गनिर्देश गरेका छन् । प्रधानको एक चिहान कृति माध्यमिक तहको अनिवार्य नेपाली विषयमा समेत समावेश गरिएको छ ।
नाटकको निर्देशन रविन दोङ र सहनिर्देशन सुजन आचार्यले गरेका हुन्। नाटक करिब १ घन्टा ४५ मिनेट रहने छ ।
Leave a Reply