दोलखा सहरमा खड्गे जात्रा

 पब्लिक संवाददाता      आइतवार, अशोज २७, २०८१      0

दोलखा सहरमा खड्गे जात्रा

दीपशंकर चाैलागाई
पब्लिक समाचारदाता
दोलखा २७ असाेज/ दोलखा सहरमा प्रत्येक बर्ष विजया दशमी (टिका) को भोलिपल्ट दिनभर प्रर्दशन गरिने खड्गे जात्रा यो बर्ष आईतवार सकिएको छ । पौराणिक कथामा आधारीत खड्गे जात्रा हरेक बर्ष विजया दशीमीको टिकाको भोलीपल्ट दोलखा सहरको बिभिन्न टोलमा प्रर्दशन गरीदै आएको छ ।


खड्ग जात्रा प्रर्दशनको क्रममा सेतो दौरा, सेतो जामा र सेतै फेटा पहिरी जमाराको माला लगाई, खड्ग हातमा लिएर बजारको विभिन्न भागमा युद्धको शैलीमा नाच्ने गरिन्छ । मल्ल कालीन समयदेखि चल्दै आएको यो जात्रा देवदेवीले महिषासुर दानवको वध गरी विजय प्राप्त गरेको सम्झनामा बडा दशैँ टीकाको भोलिपल्ट दिनभरि मनाइने स्थानीय यज्ञकुमार प्रधानले बताउनुभयाे ।
किंवदन्ति अनुसार दानवहरुले देवदेवी तथा मनुष्यहरुलाई विभिन्न प्रकारले दुःख दिन लागेपछि देवदेवीहरुले युद्ध गरी महिषासुर दानवको बध गरी दुःखबाट पार पाउने निष्कर्ष निकालेर युद्धको साइत जुराई भाद्र पूणर्िमादेखि युद्ध सुरु गरेका थिए । युद्ध सुरु हुनुअघि पूजा सामग्री साथ निमन्त्रणा र सहयोगको लागि देवदेवीहरु जनै पूणर्िमाको अघिल्लो दिन कालिञ्चोक भगवती भएको ठाँउमा जाने र जनै पूणर्िमाको दिन त्यहीँबाट निसाना लिएर आई दोलखा सहरको राइती भन्ने तीन धारा अगाडि यज्ञको सुरुवात गरी युद्ध गर्ने परम्परा रहेको स्थानीय जेष्ठ नागरिक प्रधानको भनाई छ ।


देवदेवीले राइतीमा यज्ञ गरेको खवर पाएपछि दानवहरु यज्ञ ध्वस्त गर्न त्यस ठाँउमा आए र यज्ञमा वितण्डा मच्चाउन थाले । दानवहरुको यस्तो कार्यले देवदेवीहरु क्रुद्ध भए र दानव तथा देवदेवीको बीचमा भीषण युद्ध भयो । युद्धमा दानवहरु पराजित भए र विजया दशमीको दिनमा देवदेवीले महिषासुरको शिर छेदन गरी विजय हासिल गरे । यसरी देवदेवीले युद्धमा महिषासुरको बध गरी विजय हासिल गरेको सम्झनाको लागि दोलखा सहरमा खड्ग जात्राको सुरुवात गरिएको स्थानीयको भनाई छ ।
खड्ग जात्रा मनाउन दोलखाको राजकुलेश्वरदेखि केही तल रहेको चक्र डबलीमा नवमीको दिन पुजारीहरुद्वारा चामलको भातबाट चक्रेश्वर वलि राजाको मूर्ति बनाई स्थापना गरी स्थानीय कुसुलेहरुद्वारा राँगाको बलि दिने प्रचलन समेत रहेको छ । भीमेश्वरमा बलि दिने चारवटा राँगा मध्य एउटा राँगाको मासु ताछी घाँटी नछिनाई भीमेश्वरको मन्दिर भन्दा केही तल रहेको त्रिपुरा सुन्दरी मन्दिरमा लाने प्रचलन समेत रहेको छ । त्यसरी लानुको अर्थ ‘महिसासुरलाई यातना दिइएको’ मानिन्छ ।

भीमेश्वर डोबर डबलीबाट युद्ध नाच कालीको मन्दिर हुँदै त्रिपुरा सुन्दरी मन्दिरमा पुग्छ र त्रिपुरा सुन्दरीसँग सहायता मागी उनको नाबालक छोरा बटुक भैरबलाई घण्टा, डमरु, खड्ग सहितको राँगाको आन्द्राको माला लगाई युद्धको लागि लिएर जाने प्रचलन रहेको वडा अध्यक्ष स्टालिन श्रेष्ठले बताउनुभयो ।


बटुक भैरव समेतको सेना त्रिपुरा सुन्दरीबाट ढुङ्गल टोल, नागेश्वर मन्दिर, पिंगल टोलको महादेव स्थान, राजकुलेश्वर हुँदै चक्रराज बलि राजाको मूर्ति स्थापना गरेको ठाँउमा पुग्ने र भीमेश्वर स्थान तथा त्रिपुरा सुन्दरी मन्दिरमा बलि दिइएको राँगाको टाउको राखी राजकुलेश्वर भगवती र बटुक भैरवले खड्ग प्रहार गरी महिषासुरको शिर छेदन गर्दै सगुन सहित बाजा बजाएर विजय उत्सव मनाई खड्ग जात्राको समापन गर्ने प्रचलन रहेको छ । खड्ग जात्रा सम्पन्न भएपछि साँझमा त्रिपुरा सुन्दरी र राजकुलेश्वर मन्दिरको पुजारीले राजकुलेश्वर मन्दिर अगाडि बसी सर्व साधारणलाई टीका लगाई दिने प्रचलन समेत रहेको छ ।
दोलखा सहर छुट्टै राज्य हुदा हाय हाय राजाको पाला देखिनै प्रचलनमा रहेको खड्ग जात्रालाई मल्ल राजाको पालामा व्यवस्थित गरिएको थियो । अहिले यो जात्रामा बिभिन्न भूमिकामा रहने व्यक्तिहरु क्रमशः नयाँ पुस्तामा हस्तान्तरण हुदै गएको सास्कृतविद विराजमान श्रेष्ठले बताए ।
विगतमा यो जात्रा हेर्न स्थानीय दोलखाका स्थानीय वासिन्दा, जिल्लाको बिभिन्न ठाँउका मानिस र रामेछाप, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर र भक्तपुरबाट समेत मानिसहरु आउने गरेका छन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *