दोलखा शहरमा भैरवकुमारी जात्रा सुरू
पब्लिक समाचारदाता
दाेलखा ५ भदौ । कालो रङ्गको वस्त्रधारी भैरवका पछाडि रातो भेषमा सजिएकी कुमारी अनि उनिहरुको वरिपरि हातहतियार सहित विभिन्न भेषभुषामा सजिएका सिपाहीहरू रातभरी ऐतिहासिक शहर दोलखा बजार घुमेर नाँच्ने परम्परागत भैरव कुमारी जात्रा बुधबारबाट शुरु भएको छ ।
गाईजात्राको भोलीपल्ट भाद्र कृष्ण पक्ष द्वितीयादेखि षष्टी सम्म १४ जना कसाई कुसुलेहरूले एकै पटक बाजा बजाई भैरव कुमारी र सिपाहीहरू सहित नचाउने यो जात्रा दोलखा बजारमा मात्र देखाइने यसका अध्येता राम श्रेष्ठले बताएका छन् ।
बजार स्थित कुमारी घरबाट निकालिने यो जात्रा हेर्न हजारौ भक्तजनहरू ५ दिन दोलखा बजार पुग्छन । भैरव कुमारी जात्रामा मुकुण्डो सहित कालो जामा लगाई उन्मत्त तामाको लिङ्ग अरूले अठ्याई बोकेको भैरव अघि अघि बाजाको तालमा नाँच्दै र मुकुटसहित रातो साडी लगाएको कुमारी र विभिन्न भेष भुषामा हातहतियार समेत बोकेको १४ जना हतियारधारी गणहरु भैरव र कुमारीको आसपास हुने गरी नाँच देखाउदै दोलखा शहरको विभिन्न देवस्थलहरुको परिक्रमा गर्ने गर्छन् । यो नाँच राती १० बजे बाट बिहान ४ बजे सम्म देखाइन्छ।
यो जात्रामा नाँच्नेहरू दोलखा बजारका शिवभक्ति खलकहरू मात्र हुन्छन् । द्वितीयाको दिन गुठीयार तथा शिवभक्ति खलक दिउँसो बालकुमारी मन्दिरमा पुजा सामग्री तयार गरेर एउटा बोको लिएर जान्छन् । बालकुमारी मन्दिरमा तान्त्रिक विधि–विधानबाट पूजा सिध्याई बली दिएर कालो र रातो टीका ल्याएर गुठियारले भैरवको मकुण्डोलाई कालो टीका र कुमारीको मकुण्डोलाई रातो टीका लगाई दिइसकेपछि मात्र वर्ष दिन भरी कुल्याणमा गुप्त रुपमा राखेको मकुण्डो बाहिर निकाल्ने गरिन्छ । द्वितीयाको दिन भुत प्रेतले यो नाँच हेर्ने जनविश्वासका कारण भैरवको लिङ्गबिना सामन्य रुपले मात्र यो जात्रा निकालिन्छ । भोलीपल्ट देखि भने पूर्ण गणसहितको भैरव कुमारी जात्रा हुन्छ।
कुमारी रिसले मानव संहार गर्छु भन्ने आशयले अगाडि बढ्दा भैरवले उनको बाटो छेक्दै छेक्दै नाचेको अभिनय गर्छिन । भैरव र कुमारी फरक फरक ढङ्गले बाजाको तालमा नाच्छन् । भैरवको अगाडि अगाडि तामाको लिङ्ग, कालो जामा, हातमा भुजाहरु, गलामा मुण्डमाला, गहनाहरू, आँैलामा चाँदीको औठी लगाएको हुन्छ भने कुमारीले मैनबाट बनेको रातो मकुण्डो, रातै जामा, हातमा माला, गलामा गहनाहरु लगाएको हुन्छ । रातो सारी–चोलो, हातमा धागो काटने फिरफिरे र लठ्ठी लिएको हुन्छ । उनिहरु संग हिड्ने गण बिभिन्न भेषभुषामा सजिएका हुन्छन् ।
उनिहरू नाँच्ने बाजा २ कसाही र १२ कुसुलेले बजाउँछन् । जात्रा निकाल्नु अघि भित्र पुजा विधि सकेपछि गुवाजु निस्किएर भैरव र कुमारी बाहिर आउन लागेको संकेत गर्छन् । त्यसपछि गणमा रहेका सेनापति, थकाल्नी, जाल फ्याँक्ने, नाककाट्ने, सामान बोक्ने, ध्वजा बोक्नेहरु निस्केर नाँच्न थाल्छन् । भैरव निस्केपछि बाजा फेरिन्छ सबैले दर्शन गर्छन् र भैरव कुमारी नाँच्न थाल्छन् । कुमारी सबभन्दा पछाडि निस्कन्छ । बाहिर दर्शनार्थीहरुले भेटी चढाउने, पूजा गर्ने, धुपबत्ती बाल्ने, मइन्टोल बाल्ने, गोकुल धुप बाल्ने गर्दछन् । चतुदर्शी र पञ्चमीको दिनमा टाढा टाढादेखि मानिसहरू आएर दर्शन गर्न आउँछन्।
भैरव कुमारी जात्रा निकाल्ने समयमा दोलखाका अधिकांश महिला र युवतीहरु व्रत समेत बस्ने गर्छन । बिहानदेखि व्रत बसि बेलुका भैरव कुमारीको पुजा गरी सगुन दियो भने मनमा चिताएको कुरा पुरा हुने जनविश्वास रहेको छ । भैरव कुमारीको दर्शन मात्र ग¥यो भने पनि रोग व्याधि नलाग्ने र मनमा चिताएको कुरा पुरा हुने विश्वास जनमानसमा छ । व्रत बस्नेहरू मध्ये कतिपयले छाक दिने भनेर भैरव कुमारी र गण हुनेहरूलाई नाचेको भोलि पल्ट भोज समेत खुवाउने परम्परा रहेको सास्कृतविद विराजमान श्रेष्ठ बताए।
भैरव कुमारी जात्रा दोलखामा कहिलेदेखि सुरु भयो भन्ने एकिन प्रमाण नभए पनि दोलखामा पाइएको ने.सं. ५८० को अभिलेखमा भैरव कुमारी जात्रा दोलखा शहरमा प्रर्दशन गरिने जात्रा मध्ये सबै भन्दा पुरानो जात्रा हो भन्ने उल्लेख भएको सास्कृतविद श्रेष्ठ जानकारी दिनुभयो ।
शिवभक्ति समुदायले मात्र नाँच्ने यो जात्रा उक्त समुदायका युवाहरू रोजगारीका सिलसिलामा बाहिर गएका कारण सञ्चालनमा कठिनाई भोग्नु परेको अबस्था स्थानीयहरू बताउँछन ।
Leave a Reply