भिमसेनलाई पसिना ,देशमा के हुने विभिन्न तर्क
दीपशंकर चाैलागाई
दाेलखा ५ साउन। दोलखा जिल्लाको प्राचीन, ऐतिहासिक मन्दिर भीमेश्वर मन्दिरमा पसिना आइरहेको छ । आज दिउँसो १:४७ बजेदेखि पटक पटक मन्दिरको शिलामा पसिना आईरहेकाे वडा अध्यक्ष स्टालिन श्रेष्ठले जानकारी दिएका छन् ।
मन्दिरको शिलामा दायाँ तथा बायाँतर्फ पसिना आएको अध्यक्ष श्रेष्ठले बताए । दोलखा भीमेश्वर मन्दिरमा पसिना आएमा अनिष्ट हुन्छ भन्ने परम्परा रहेको छ । यस अघि पनि पसिना आउदा देशमा ठुला घटना हुने गरेको स्थानीयहरुको भनाइ छ ।
देशमा हुने परिवर्तन तथा विभिन्न घटनाको पूर्व संकेत गर्ने विश्वास मानिएको दोलखा भीमसेनको शिलामा शनिबार दिउँसो करिब डेढ घण्टादेखि पसिना आईरहेको छ ।
शिलाको दायाँतिर पसिना आउँदा तत्कालिन राजपरिवार तथा राष्ट्र प्रमुखमा तथा बाँयातिर पसिना आउँदा जनतामा दुःख कष्ट आईपर्ने विश्वास रहिआएको छ । शिलाको सबैतिर पसिना आउँदा राष्ट्र प्रमुखदेखि नागरिकसम्म असर पर्ने खालको घटनाको पूर्वसंकेत मानिने विश्वास छ । भगवान भीमसेन कुनै किसिमको परिश्रमजन्य कार्य वा लडाँइमा गएर आउँदा शिलामा पसिना देखिन्छ भन्ने जनविश्वास छ ।
सातौं शताब्दीदेखि यो मन्दिर अस्तित्वमा रहिआएको किंबदन्ती रहेपनि वि.स १९९० देखि शिलामा पसिना आएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख छ । यसअघि २०७८ को बैशाख २५ गते शिलाको दुवैतर्फ पसिना आएको थियो ।
भीमेश्वरमा पसिना आएको थाहा पाएपछि भक्तजनहरु भेला भएर घण्टी बजाउने, धुपबत्ती गर्ने, र बाजागाजा बजाएर शान्तिको कामना गरिरहेका छन् ।
तत्कालिन समयमा भिमेश्वरलाई पसिना आउदा राज परिवारवाट क्षमा पुजा हुने गरेपनी हाल भीमसेनको शिलालाई पसिना आएमा राष्ट्रपतिले क्षमा पूजा गर्नुपर्ने चलन छ । क्षमापूजाका लागि पसिना आएको कपास काठमाडौँ राष्ट्रपति कार्यालय पठाउने गरिएको छ ।
मन्दिरका शिलामा पसिना देखिएकाले पूजाआजा गरिँदै गरिएको स्थानीय बताए । भीमेश्वरको चट्टान (शिला) को विभिन्न भागमा पानीको थोपा निस्कँदै झर्ने क्रमलाई ‘पसिना’आएको विश्वास गरिन्छ ।
Leave a Reply