क्रिप्टो मार्फत ३ खर्व बढी भुक्तानी
लामावगर नाका हुँदै ३३ किलो सुन भित्रिएको दाबि, क्रिप्टो मार्फत ३ खर्व बढी भुक्तान
दीपशंकर चाैलागाई
दोलखा ५ मंसिर । फलाक नाका हुँदै सुन तस्करी गर्ने गिरोहलाई पक्राउ गरी गरिएको अनुशन्धानले
दोलखाको लामावगर नाका हुँदै ३३ किलो सुन भित्रिएको ठहर गरेको छ ।सो वापतको रकम डलर र क्रिप्टो करेन्सि मार्फत भुक्तानी भएको दाेलखा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाले आज पत्रकार सम्मेलनको आयोजना गरी सुन तस्करीमा संलग्न व्यक्तिहरुको बयान र प्रहरी अनुषन्धानवाट लामावगरको फलाक नाका हुँदै ६ पटकमा ३३ किलो सुन भित्रिएको खुल्न आएको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक खड्काले जानकारी दिए।खड्का भन्छन तस्करहरुको समूहले सुन खरिद वापतको रकम क्रिप्टो करेन्सि र डलर तथा यार्सा गुम्बा र कस्तुरीको बिना समेत पठाएर भुक्तानी गर्ने गरेको अनुषन्धानबाट पुष्टि भएको छ ।
करिब दुई महिना लगाएर गरेको अनुषन्धानको क्रममा
जिल्ला प्रहरी कार्यालय दोलखा र प्रहरीको केन्द्रीय अनुषन्धान व्यूरो (सिआईवी) का अधिकारी सहितको संयुक्त टोलीले तस्करहरुको समूहले चिनियाँ तस्करलाई नेपालवाट क्रिप्टो करेन्सी अर्थात डिजिटल वालेट प्रयोग गरी २ अर्व ९१ करोड ४८ लाख ३२ हजार ५ सय ९३ युनिट युएसडिटी भुक्तानी गरेको देखिएको दोलखाका प्रहरी नायव उपरिक्षक (डिएसपी) खड्काले बताए ।खड्काले भने सो युनिट युएसडिटीको नेपाली कारोबार मुल्य करिव ३ खर्व ८७ अर्व रुपैयाँ भन्दा बढी हुन आउँछ, नेपालमा क्रिप्टो करेन्सी युएसडिटीको कारोवार प्रति युनिट मुल्य १३३ रुपैयाँदेखि १३८ रुपैयाँसम्म अवैधरुपमा कारोवार हुँदै आएको छ । बिभिन्न १२ वटा डिजिटल वालेटको प्रयोग गरी क्रिप्टो मार्फत भुक्तानी गरिएकाे रकम सुन तस्करीसँगै अन्य तस्करीसँग पनि जोडिएको हुन सक्ने डिएसपी खड्काले आशंका गरेको छन ।प्रहरी अनुषन्धानको क्रममा सुन तस्करहरुको गिरोहले चीनको तिव्वतसँग सिमाना जोडिएको दोलखाको लामावगरको फलाक नाकावाट डोरीमा सुन बाँधेर खोला पार गरी तस्करी गरेकाे सुन तस्करी प्रकरणको अनुषन्धानमा सिआईवीवाट खटिएका प्रहरी निरिक्षक रामकृष्ण पाठकले पत्रकार सम्मेलनमा जानकारी दिए।
उनले भने तिव्वतवाट अवैधरुपमा सुन नेपाल भित्रयाई काठमाडौं लगेर विक्रि गरेपछि पुनः त्याहाँवाट डलरलाई सिलवन्दी गरी प्याक गरेर लामावगरको फलाकवाट डोरीमा बाँधेर खोला तारी चीनियाँ नागरिकलाई भुक्तानी गर्ने गरेको अनुषन्धानवाट खुल्न आएकाे छ।
एक वर्षको अवधिमा ७ लाख ६० हजार अमेरिकी डलर अर्थात आजको विनिमय दर अनुसार १० करोड ११ लाख १८ हजार रुपैयाँ डोरीमा बाँधेर खोला तारी चीनियाँलाई भुक्तानी गरेको देखिएको उनले बताए । २०७९ मंसिरदेखि गत कार्तिक ८ गतेसम्म एउटै समूहले ६ पटक गरी ३३ किलो सुन भित्रयाएको अनुषन्धानवाट खुलेको सार्वजनिक गरे। १२ जना अझै फरार छन् ,उनीहरु पक्राउ परेपछि तस्करीमा संलग्न व्यक्तिहरु थपिन पनि सक्छन् ।उनीहरुलाई पुरक अभियोग लगाइने छ ।
प्रहरीले लामावगरेको फलाक नाकावाट भित्रिएको ३३ किलो सुन मध्ये ११ किलो सुन दोलखावाट र अनुषन्धानको क्रममा ५ सय ३२ ग्राम सुनका गहना बरामद गरेको थियो । उक्त सुनको मुल्य १० करोड ६८ लाख ६८ हजार ७ सय ६१ रुपैयाँ बराबरको रहेको छ । प्रहरीले सुन तस्करीमा संलग्न व्यक्तिहरुवाट १८ लाख ३३ हजार ५ सय नगद बरामद गरेको छ। तस्करकाे नाममा बिभिन्न वैंकमा रहेको ३१ लाख ७४ हजार ६ सय ६५ रुपैयाँ रोक्का राखेको जिल्ला प्रहरी कार्यालय दाेलखाले जानएकाे छ।
दोलखा प्रहरीले सुन तस्करीमा संलग्न मुख्य नाइके चीनियाँ नागरिक ग्याङ रु र आकर लामा सहित १५ जनालाई पक्राउ गरी अनुषन्धान गरेको थियो । ती मध्ये एक जना बालकलाई हाजिर जमानीमा रिहा गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय दाेलखा र सिआईवीको टोलीले सुन तस्करी प्रकरणको अनुषन्धान पुरा गरी अनुषन्धान प्रतिवेदन सहित पक्राउ परेकाहरुलाई जिल्ला सरकारी वकिल कार्यालय दोलखामा बुझाएको छ । उनीहरु उपर भन्सार ऐन २०६४, संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र वैंक ऐन २०५८, बालबालिका सम्वन्धी ऐन २०७५ र मुलुकी अपराधसंहिता २०७४ को दफा ४३ को एकिकृत कसुरमा मुद्धा चलाइने प्रहरीले जनाएकाे छ।
Leave a Reply