२५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध, माघ १५ सम्म विद्यालय बन्द ,कार्यालय होटल आदीमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड साथमा हुनुपर्ने

 पब्लिक संवाददाता      बुधबार, पुस २८, २०७८      0

चिरफार ब्युरो
दाेलखा पुस २८
नयाँ भेरियन्टको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि दोलखाका प्रमुख जिल्ला अधिकारीबाट नौ बुँदे आदेश जारी भएकोछ जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बुधबार सम्पन्न वैठकको सिफारिस तथा गृह मन्त्रालयको निर्णय समेतको आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी बुधबार देखि अर्को सूचना जारी नहुँदा सम्म लागू हुने गरी आदेश जारी भएको हो ।
आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति, संघसंस्था, पेशाकर्मी, व्यवसायी तथा अन्य आम नागरिकको कर्तव्य भएको जानकारी दिँदै जारी आदेशको उल्लंघन गरेमा प्रचलित कानून अनुसार कारबाही हुने चेतावनी दिइएको छ । जारी आदेशमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु एवं सामाजिक लगायतका कार्यहरु गर्न नपाइने उल्लेख गरिएको छ । त्यसैगरी कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसमा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना बमोजिम माघ १५ सम्म भौतिक उपस्थितिमा पठनपाठन संचालन नगर्ने, नगराउने र पुर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाहरुको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाइ व्यवस्था गरी संचालन गर्नुपर्ने बताइएको छ । जिल्ला भित्रका सरकारी निजी, स्वास्थ्य संस्था तथा स्थानीय तहले विगतमा सञ्चालन गरेका कोभिड–१९, उपचार केन्द्र तथा आइसोलेसन केन्द्रलाई सुदृढ गरी सञ्चालनमा ल्याउन दुरुस्त अवस्थामा राख्न निर्देशन दिइएको छ ।
कोभिड–१९ को बढ्दो संक्रमणलाई दृष्टिगत गरी घर बाहिर वा सार्वजनिक स्थलमा निस्कँदा तथा राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधिहरु संचालन गर्दा माक्सको अनिवार्य प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, साबुन पानीले हात धुने, स्यानीटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने छ ।
माघ ७ गतेदेखि लागू हुने गरी सार्वजनिक सेवा प्रवाह हुने कार्यालयहरुमा सेवा प्राप्त गर्दा तथा सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, पार्क आदी) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड साथमा राख्ने र त्यस्ता निकायहरुले खोप कार्ड हेरेर (मोबाइलमा फोटो भए पनि हुने) मात्र प्रवेश दिने व्यवस्था मिलाउने, जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा सवै विद्यालयहरुमा १२ देखि १७ वर्ष समूहका विद्यार्थीलाई अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाई सक्ने व्यवस्था गर्ने छ ।
सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको बढी चाप हुने कार्यालयहरुमा स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्ने, सार्वजनिक सवारी साधनहरु स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुले अनिवार्य रुपम मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानीटाइजरको व्यवस्था हुनुपर्ने, माक्स नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य रुपमा माक्सको प्रयोग गर्नुपर्ने बताइएको छ । औषधी लगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृतिम अभाव सृजना गर्ने, मुल्य वृद्धि, गर्ने लुकाउने, सहज आपुर्तिमा अवरोध गर्ने उपर कानून बमोजिम कारवाही गरिने छ । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि नेपाल सरकाबाट जारी भएका आदेश पालनासम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन गरी अवज्ञा भएको पाईएमा संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही हुने जारी सूचनामार्फत जानकारी दिइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *