नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत बागमती प्रदेशको महामन्त्री पदमा दोलखाका ईश्वर नारायण मानन्धरले उम्मेदवारी घोषणा गरेका छन् ।
कांग्रेसको सुदृढीकरण, शुद्धीकरण, रुपान्तरण र संघीयता कार्यान्वयनका लागि प्रदेशको महामन्त्री पदमा बसेर काम गर्न भन्दै उनले उम्मेदवारी घोषणा गरेको जानकारी दिए ।
२०४१ सालमा गौरीशंकर क्याम्पस चरिकोटको नेविसंघ इकाइ सभापति, ०५४ सालमा तरुण दल जिल्ला अध्यक्ष हुँदै तरुण दलकै केन्द्रीय सदस्य र केन्द्रीय सचिव भइसकेका उनी कांग्रेसको १० औं महाधिवेशनपछि निरन्तर महासमिति सदस्यको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् ।१४औं महाधिवेशनमा खुल्ला महाधिवेशन प्रतिनिधिमा दोस्रो लोकप्रिय मत पाएका उनी यसअघि भीमेश्वर नगरपालिकाको मेयर पदका उम्मेदरवार समेत भएका थिए । ‘राजनीतिमा निरन्तरता, योगदान र क्षमताको मापनलाई आधार मान्ने हो भने म महामन्त्री पदका लागि योग्य छु जस्तो लाग्छ । धेरै शुभेच्छुकहरुले पनि हौसला दिइरहनु भएको छ,’ उनले भने ।
कांग्रेसले सोमबार परिमार्जन गरेको कार्यतालिका अनुसार यही १७ र १८ मंसिरमा प्रदेश तहको संरचनाको नेतृत्व चयनका लागि पहिलो अधिवेशन गर्दैछ । उक्त अधिवेशनका लागि मान्धरले चुनावी अभियानलाई तिब्रता दिएको बताए । ‘सबैसँग कुराकानी गरिरहेको छु । तयारी भइरहेको छ । सबैले सकारात्मक प्रतिक्रिया जनाउँदै सहयोग गर्ने वचन दिनुभएको छ’ उनले भने ।
Leave a Reply