
दीपशंकर चौलागाई
दोलखा ३० असोज ।पौराणिक शहर दोलखामा खड्ग जात्रा धुमधामका साथ मनाईएको छ । त्रिपुरा सुन्दरी भगवतीले नाबालक छोरा बटुक भैरवलाई घण्ट, डमरु, खड्ग थमाई राँगाको आन्द्राको माला लगाएर युद्धमा सामेल गराएको रोचक नाच जात्रामा प्रस्तुत गरिएकोछ। ।
नवमीका दिन भीमेश्वर र त्रिपुरा सुन्दरीमा बली दिएर लगिएको चारवटा राँगाको टाउकोलाई राजकुलेश्वर भगवती र बटुक भैरवले खड्ग प्रहार गरेर पछि युद्ध जितेको भन्ने प्रचलन रहि आएको छ । खड्ग जात्रा मनाउन राजकुलेश्वर चोक देखि केही तल रहेको चक्र डबलीमा नवमीको दिन पूजारीहरुद्वारा चामलको भातबाट चक्रेश्वर बली राजाको मूर्ति बनाई स्थापना गरी बली दिने प्रचलन १६औ शताब्दी देखी चलिआएको स्थानी यज्ञबहादुर प्रधानले बताए ।
किंवदन्ति अनुसार दानवहरुले देवदेवी तथा मनुष्यहरुलाई विभिन्न प्रकारले दुःख दिन लागेपछि देवदेवीहरुले युद्ध गरी महिषासुर दानवको बध गरी दुःखबाट पार पाउने निष्कर्ष निकालेर युद्धको साइत जुराई भाद्र पूणर्िमादेखि युद्ध सुरु गरेका थिए । युद्ध सुरु हुनुअघि देवदेवीहरु पूजा सामग्री साथ निमन्त्रणा र सहयोगको लागि कालिञ्चोक भगवती भएको ठाँउमा गए र त्यहाँबाट आश्वासन प्राप्त गरेर फर्की दोलखा सहरको राइती (राजहिटी) भन्ने तीन धारा अगाडि यज्ञको सुरुवात गरे ।देवदेवीले राइतीमा यज्ञ गरेको खवर पाएपछि दानवहरु यज्ञ ध्वस्त गर्न त्यस ठाँउमा आए र यज्ञमा वितण्डा मच्चाउन थाले । दानवहरुको यस्तो कार्यले देवदेवीहरु क्रुद्ध भए र दानव तथा देवदेवीको बीचमा भीषण युद्ध भयो । युद्धमा दानवहरु पराजित भए र विजया दशमीको दिनमा देवदेवीले महिषासुरको शिर छेदन गरी विजय हासिल गरे । यसरी देवदेवीले युद्धमा महिषासुरको बध गरी विजय हासिल गरेको सम्झनाको लागि दोलखा सहरमा खड्ग जात्राको सुरुवात गरिएको स्थानी प्रधान बताए ।
युवादेखि वृद्धसम्मको समूहले संगुन ग्रहणपछि खड्ग बोकी दिनभर युद्धकला देखाउँदै सहरका टोलटोलमा नाच्दै परिक्रमा गरिन्छ । स्थानीय कुसुलेहरुद्वारा राँगाको बलि दिने प्रचलन समेत रहेको स्थानीय बृद्धहरुको भनाइ रहेको छ । युद्धको लागि कालिञ्चोक भगवतीसँग सहयोग माग्न देवदेवीहरु जनै पूणर्िमाको अघिल्लो दिन जाने र जनै पूणर्िमाको दिन त्यहीँबाट निसाना लिएर आई युद्ध सुरु गर्ने परम्परा रहेको छ । भीमेश्वरमा बलि दिने चारवटा राँगा मध्ये एउटा राँगाको मासु ताछी घाँटी नछिनाई भीमेश्वरको मन्दिर भन्दा केही तल रहेको त्रिपुरा सुन्दरी मन्दिरमा लाने प्रचलन समेत रहेको छ । त्यसरी लानुको अर्थ ‘महिसासुरलाई यातना दिइएको’ मानिन्छ । दोलखाको राजकुलेश्वर मन्दिरबाट सुरु हुने खड्ग जात्रा दोलखा सहरको चक्रमण्डप नकछें टोलको बौद्ध चैते, कोर्छें टोल, पिंगल टोलको बालकुमारी मन्दिर हुँदै भीमेश्वर डोबर डबलीमा पुर्याइने र त्यहाँ चार दानवको प्रतीक स्वरुप चार वटा राँगालाई सबैले खड्ग प्रहार गरी सांकेतिक रुपमा मार्ने चलन रहेको छ ।
साँझमा कुभिन्डो काटेपछि एकदिने खड्ग जात्राको औपचारिक समापन हुन्छ । जात्रा सम्पन्न भएपछि साँझमा त्रिपुरा सुन्दरी र राजकुलेश्वर मन्दिरको पूजारीले राजकुलेश्वर मन्दिर अगाडि बसी सर्वसाधारणलाई टीका लगाइदिने प्रचलनसमेत रहिआएको छ ।
भिमेश्वर पुजा ब्यबस्थापन समिती ,स्थानिय बासिन्दा र भिमेश्वर नगरपालिका २ नम्बर वडा कार्यालयको ब्यबस्थापन र आर्थिक सहयोगमा खड्ग जात्रा निकालीएको छ । धार्मिक सस्कृती जगेर्नाको लागी ऐतिहासिक शहरमा निकालिने हरेक जात्राको लागी भिमेश्वर नगरपालिकाले आर्थिक सहयोग गर्दै आएको २ नं वडाका अध्यक्ष बिराजमान श्रेष्ठले बताए । सेतो दौरा, सेतो जामा र सेतै फेटा पहिरी जमाराको माला लगाई, खड्ग हातमा लिएर बजारको विभिन्न भागमा युद्धको शैलीमा नाच्दै मनाइन्छ । दोलखा बजारको विभिन्न टोल तथा चोकहरुमा युद्धको अभिनयसंँगै कुसुले बाजाको तालमा नाच्दै यो जात्रा मनाइन्छ ।मल्ल कालीन समयदेखि चल्दै आएको मानिने यो जात्रा देवदेवीले महिषासुर दानवको वध गरी विजय प्राप्त गरेको सम्झनामा बडा दशैँ टीकाको भोलिपल्ट दिनभरि मनाइने परम्परा रहेको गुठियार एवं भीमेश्वर नगरपालिका २ का अध्यक्ष श्रेष्ठले जानकारी दिए । पहिले छुट्टै राज्यको रुपमा रहेको दोलखा बजारमा अहिले पनि धेरै परम्परागत जात्रा पर्वहरु मनाउने गरिन्छ ।
भीमेश्वर डोबर डबलीबाट युद्ध नाच कालीको मन्दिर हुँदै त्रिपुरा सुन्दरी मन्दिरमा पुग्छ र त्रिपुरा सुन्दरीसँग सहायता मागी उनको नाबालक छोरा बटुक भैरबलाई घण्टा, डमरु, खड्ग सहितको राँगाको आन्द्राको माला लगाई युद्धको लागि लिएर जाने प्रचलन रहेको स्थानीय बृद्धहरु बताउँछन् । बटुक भैरव समेतको सेना त्रिपुरा सुन्दरीबाट ढुङ्गल टोल, नागेश्वर मन्दिर, पिंगल टोलको महादेव स्थान, राजकुलेश्वर हुँदै चक्रराज बलि राजाको मूर्ति स्थापना गरेको ठाँउमा पुग्छ । र भीमेश्वर स्थान तथा त्रिपुरा सुन्दरी मन्दिरमा बलि दिइएको राँगाको टाउको राखी राजकुलेश्वर भगवती र बटुक भैरवले खड्ग प्रहार गरी महिषासुरको शिर छेदन गर्दै सगुन सहित बाजा बजाएर विजय उत्सव मनाई खड्ग जात्राको समापन गर्ने प्रचलन रहेको छ ।खड्ग जात्रा सम्पन्न भएपछि साँझमा त्रिपुरा सुन्दरी र राजकुलेश्वर मन्दिरको पुजारीले राजकुलेश्वर मन्दिर अगाडि बसी सर्व साधारणलाई टीका लगाई दिने प्रचलन छ ।
Leave a Reply