गीताकृष्ण शर्मा
ओके कान्तिपुर संवाददाता
मैनापोखरी असार १० । दोलखाको वैतेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागी नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले आगामी आर्थिक वर्षका लागी ४४ बुँदे नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा कोभिड १९ उपचार कोषमा रकम थप गर्ने, वैत्यश्वर अस्पतालको स्तरोन्नती गर्ने, ८ वटै वडा कार्यालय र गाउँपालिका केन्द्र जोड्ने सडकको स्तरोन्नती सहित आगामी वर्ष ४ किलोमिर सडक कालोपत्रे गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नाम्दु–आँगेटार–पाँडुडाँडा सडकको क्षमता विस्तार, स्थानीय पाठ्यक्रम अनुसार पाठ्यपुस्तक तयार गर्ने, विकासमा लैङ्गिक उत्तरदायित्व बहन गर्ने, पालिका भित्र स्थानीय सीप, कला, श्रोत साधन र प्रविधिको प्रयोग गर्ने व्यक्तिहरुलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागी ४७ करोड ९१ लाख २८ हजार ७ सय २ रुपैयाँ बराबरको बजेट पेश गरेको छ । गाउँपालिकाले चालु तर्फ १० करोड ९५ लाख, पुँजीगत तर्फ १६ करोड २९ लाख ३३ हजार ७ सय २ रपैयाँ, ससर्त तर्फ २० करोड ६६ लाख ९५ हजार गरि आगामी वर्षका लागी ४७ करोड ९१ लाख २८ हजार ७ सय २ रुपैयाँ बजेट पेश गरेको हो ।
गाउँपालिकाले आर्थिक विकासको लागी ५८ लाख रुपैयाँ, सामाजिक विकासका लागी २ करोड ३६ लाख, पुर्वाधार विकास तर्फ (खानेपानी, सडक, सिँचाइ, पर्यटन विकास) १३ करोड ५ लाख ३३ हजार, कार्यालय सञ्चालनका लागी १० करोड ९५ लाख, विपद व्यवस्थापनका लागी ३० लाख, ससर्त अनुदान तर्फ २० करोड ६६ लाख ९५ हजार विनियोजन गरेको छ । गाउँपालिकाका ८ वटा वडालाई ५० लाखका दरले रकम विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिनुभयो ।
गाउँ सभा पालिका अध्यक्ष छवि लामाको अध्यक्षतामा भएको थियो । आज प्रस्तुत गरिएको नीती, कार्यक्रम र बजेट उपर दफावार छलफल गरि असार २८ गते पारित गरिनेछ ।
Leave a Reply