मेलम्चीको बाढीमा बेपत्ता एकको शव फेला, ४५ जनाको उद्धार

 पब्लिक संवाददाता      बुधबार, असार २, २०७८      0

सीके चौलागाई
ओके कान्तिपुर संवाददाता
सिन्धुपाल्चोक २ असार । सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीमा परी बेपत्ता भएकामध्ये एक जनाको पुरुषको शव फेला परेको छ । शवको सनाखत भने हुन नसकेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।उनका अनुसार हालसम्म सात जना बेपत्ता भएका छन् । बेपत्तामध्ये एक जनाको शव फेला परेपनि अन्य ६ जनाको खोजी कार्यजारी रहेको उनले बताए ।

बेपत्ता भएकाहरू कुन क्षेत्रमा काम गर्थे र कसरी हराए भन्ने जानकारी नभएकाले अहिले नै केही भन्न सक्ने अवस्था नरहेको उनले बताए ।बाढीमा फसेका तीन जना नेपाली र तीन जना चिनियाँ नागरिकलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी ललितपुरको बी एण्ड बी अस्पतालमा लगिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

हालसम्म बाढीमा फसेका ४५ जना नेपाली र विदेशी नागरिकको उद्धार भइसकेको पनि खनालले बताए ।बाढीले आसपासका वस्तीहरु बगाएको र मंगलबार रातिदेखि विद्यूत सेवा पनि अवरुद्ध भएको छ । उक्त क्षेत्रमा बाढीका कारण भएको क्षतिको पूर्ण विवरण आउन नसकेको सहायक प्रजिअ खनालले बताए ।उनले भने, ‘हाम्रो पहिलो प्राथमिकता जीवन रक्षा भएकाले मानिसहरूको उद्धार गरिरहेका छौँ ।’

बाढीका कारण इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिका जोड्ने पक्की पुल भत्किएर सडक अवरुद्ध भएको छ । उक्त पुल नजिकैको अर्को पक्की पुल र गेट पनि भत्किएको जानकारी आएको उनले बताए । निरन्तर पानी परिरहेकाले क्षतिको पूर्ण विवरण संकलन गर्न समस्या भएको उनको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *