गीताकृष्ण शर्मा,
ओके कान्तिपुर
मैनापोखरी- जेठ ३० । छोराहरुले मात्र आमाबाबुको काजक्रिया गर्नुपर्छ भन्ने परम्परागत मान्यतालाई चुनौति दिंदै बैतेश्वर -४, डाँडाघरका तीनजना छोरीहरुले आफ्ना बाबुको काजक्रिया गरेका छन ।
वैतेश्वर -४ डाँडाघरका ८६ वर्षीय निलप्रसाद दहालको यहि जेठ २८ गते साँझ ९:०५ बजे निधन भएपछि उनका छोरीहरुले दाहसंस्कार गरी काजक्रियामा बसेको कुरा स्थानीय शान्तिप्रसाद दहालले जानकारी दिए । हिन्दु संस्कार अनुसार आमाबाबुको मृत्यु पश्चात् छोराले दाहसंस्कार र काजक्रिया गर्ने सामाजिक र परम्परागत मान्यता छ । शास्त्र र विधिमा छोरीले काजक्रिया गर्न नहुने भन्ने मान्यता राख्ने समाजलाई उनीहरुले ठाडो चुनौति दिएका मात्र छैनन उनीहरु दोलखाकै उदाहरणीय छोरी बनेका छन ।
स्व. निलप्रसाद दहालका एक श्रीमती र छ्वटी छोरीहरु छन । तीमध्ये जेठी राधिका र माइली ताराको विवाह भैसकेको छ । विवाहगर्न बाँकी २३ वर्षीय छोरी कल्पना, २० वर्षीय छोरी सम्झना र १८ वर्षीय छोरी विनिताले छोरासरह बाबुलाई दागबत्ती समेत दिएर दाहसंस्कार गरे भने कपाल मुन्डन गरेरै कोराभित्र बसेर काजक्रिया गरिरहेका छन । १२ वर्षीय कान्छी छोरी जेनिशा भने आमाको साथीको रुपमा जुठो बारेर बसेकी छिन ।
छोरीले काजक्रियामा बस्न नहुने र छोरा नहुनेको हकमा मृतकका दाजुभाईले काजक्रिया गर्नु पर्ने सामाजिक प्रचलन रहेको छ । यहि प्रचलनका कारण छोरीहरुलाई काज क्रिया गर्न नदिन स्थानीयहरु लागिपरेको तर हामीहरुले आफ्नो बाबुप्रतिको कर्तव्य र दायित्वलाई पूरा गर्न कपाल मुन्डन गरेरै काजक्रिया गरेको कल्पना बताउँछिन ।
उनी भन्छिन- ” छोरीहरुको पनि आमाबाबुप्रती छोरासरह दायित्व छ । हामी जन्मले छोरी भएर जन्मिए पनि आमाबाबुले जन्माउँदा र हुर्काउँदाको दु:ख छोरा छोरी जो भए पनि उत्तिकै व्यहोरेका हुन्छन । त्यसैले हामीले आफ्नो बाबुको काजक्रिया हामी आफैले गर्छौं भनेर गरेका हौं ।”
आफ्नो बाबू निकै बिरामी भएको र प्राणत्याग गर्ने बेला छिमेकीहरुलाई गुहार माग्दा समेत साथ नपाएको उनको गुनासो छ। बाबुको प्राण गएपछी निकै टाढाबाट मानिस आएर सहारा दिएको तर आँगन जोडिएका आफन्तहरुले सुनेको नसुन्यै गरेकोमा उनको दुखेसो छ। यसको कारण हामी छोरीहरु मात्र जन्मेकोले हो भन्ने उनीहरुको बुझाई छ । छोरीमात्र भएका परिवारलाई सबैले अपहेलना गर्ने, खिसिट्यौरी गर्ने र तिरस्कारको व्यवहार गर्नेहरुप्रती यी चार छोरीहरुको आँट र हिम्मतले सबैलाई चकित बनाइदिएको छ ।
छोरीले आमाबाबुको काजक्रिया गर्नु हुन्न भनेर रोक्न खोज्ने केही आफन्त र समाजका केही व्यक्तिहरु थिए । तर पितृसत्तात्मक समाज बदल्नु हामी पढेलेखेका छोरीहरुको दायित्व हो । हामी नमुना बनेर देखाउँछौं । सक्नु हुन्छ सकारात्मक सहयोग गर्नुस, हामीलाई दाहसंस्कार र काजक्रिया गर्न सघाउनुस । यदि सक्नु हुन्न भने लास छुने कोसिस नि नगर्नुस । हामी हाम्रो बाबुको लास जे गर्छौं गर्छौं भनेपछि मात्र मलामीका लागि आएका मान्छेहरु सकारात्मक भएको कुरा कल्पनाले बताइन । भन्छिन- ” हामी छोरी होइन छोरा बनेरै देखाउँछौं, यसका लागि जस्तोसुकै संघर्ष गर्नु परे पनि तयार छौं ।” स्थानीय शान्तिप्रसाद दहाल भन्छ्न – “उनीहरुको यो आँट र साहसले पक्कै पनि समाजमा देखिएको छोरा मोह र छोरीप्रति हुने तिरस्कार र अपहेलनाको न्यूनिकरण गर्न सहयोग गर्नेछ भने समाज रुपान्तरणमा यो घटनाले सकारात्मक सन्देश पनि दिनेछ ।”
Leave a Reply