नेपाल निकट भ्रातृ संगठनको चेतावनी : ओलीको हैकमवादी निर्णय मान्य हुँदैन

 पब्लिक संवाददाता      बिहिबार, जेष्ठ २०, २०७८      0

ओके कान्तिपुर
नेकपा एमालेका निष्कासित नेता माधवकुमार नेपाल समूह निकट १७ वटा भ्रातृ संगठनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र हैकमवादी निर्णय गरेर अरुलाई लाद्न खोजेको आरोप लगाएका छन्।

१७ भ्रातृ संगठनले संयुक्त विज्ञप्ती निकाल्दै लेखेका छन्, ‘नेकपा (एमाले)को अध्यक्षको रुपमा कोराना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका लागि सिंगो पार्टी पंक्तिलाई स्वयंसेवीको भूमिका निर्वाहका लागि परिचालित गर्नुपर्ने अवस्था हो। तर, उहाँ पार्टीको विधान र पद्धतिको ठाडो उल्लंघन गर्दै एकपछि अर्को स्वेच्छाचारी, निरंकुश र हैकमवादी निर्णय गर्नमा व्यस्त हुनुहुन्छ।’

ओलीको अहंकार, व्यक्तिवाद, गुटगत मनोवृत्ति र स्वार्थका कुठाराघातको कारणले नेकपाको एकता भंग भएको भन्दै एमाले पनि विभाजन गर्न खोजेको आरोप उनीहरुले लगाएका छन्।

एमाले पुनर्जीवित भएपछि पार्टी एकीकरण हुनुपूर्वको स्थितिमा पार्टी, जनसंगठन र पेशागत संगठनका सबै संरचनाहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउनुपर्नेमा ओलीले एकलौटी पार्टीलाई लान खोजेको आरोप लगाएको छ। ओलीको कदम सच्चाएर अघि नबढाएर अर्को पार्टी दर्ता गरेर अगाडि बढ्ने चेतावनी समेत दिइएको छ।

विज्ञप्तिमा लेखिएको छ, ‘नेकपा (एमाले)कै नेतृत्वमा कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा लैजानुपर्ने अवस्था आयो। यही जिम्मेवारीबोध र अठोटका साथ हामी र पार्टीको हाम्रो नेतृत्व दृढतापूर्वक अगाडि बढेको जगजाहेर छ।

तर नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र पार्टी विधान कुल्चँदै २८ फागुन २०७७ मा गुटगत भेला गरी मनपरी किसिमले केन्द्रीय कमिटी भंग गर्ने, महाधिवेशनबाट निर्वाचित नेताहरुलाई जिम्मेवारीबाट मुक्त गर्ने र पार्टी सदस्य नभएकाहरुलाई जिम्मेवारी दिनेजस्ता अवैध निर्णय गरियो।’

ओलीको अवैध निर्णय बदर गर्दै पार्टीलाई अदालतको फैसला अनुसार २०७५ साल जेठ २ गते अघिको स्थितिमा सञ्चालन गरी पार्टी एकता जोगाउन बहुमत पदाधिकारी र स्थायी कमिटी सदस्यहरुले अध्यक्ष ओलीलाई अनेक पटकका वार्ता र पत्राचार मार्फत् आग्रह गर्दा समेत पार्टी एकताको लागि गम्भिर नभएको उनीहरुको भनाई छ।

संविधानको धारा ७६ को उपधारा ४ र ५ मिच्दै फेरि प्रतिनिधिसभा विघटन गर्ने अलोकतान्त्रिक काम भएको निष्कर्ष समेत उनीहरुले निकालेका छन्। प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक व्यवस्था र संविधान गुम्ने खतरा पैदा भएको उल्लेख गरेको छ।

कम्युनिष्ट आन्दोलन नै खतरामा परेकाले संविधानको रक्षा गर्दै नेकपा (एमाले) र कम्युनिष्ट आन्दोलनलाई बचाउनु प्रमुख चुनौती बनेको उल्लेख गरेको छ। व्यवस्था, संविधान, पार्टी विधान र पद्धति विरुद्ध गरिएका सम्पूर्ण निर्णयहरु सच्याएर सुदृढ र एकताबद्ध पार्टी निर्माणको लागि अध्यक्ष ओलीलाई आग्रह समेत गरेका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *