दीपशंकर चौलागाई
ओके कान्तिपुर
दोलखा, १८ जेठ । कोभिड–१९ को महामारी बढि रहेका बेला केही व्यक्तिहरुले व्यक्तिगत लगानीमा गाउँभरी स्वास्थ्य सामग्री वितरण गरेका छन् । गाउँमा कोरोना भाइरस फैलिएर संक्रमितहरु बढ्न थालेपछि स्वास्थ्य सामग्री बोकेर गाउँबाट सहरमा व्यवसायी गरी बस्ने व्यवसायीहरु गाउँ आउन थालेका छन् ।
काठमाडौं सहित निर्माण व्यवसायको काम गर्दै आएका मेलुङ गाउँपालिका वडा नं. ७ खड्काथोकका सहदेव खड्काले १० वटा अक्सिजन कन्सन्ट्रेटर मास्क र सेनिटाइजर उपलब्ध गराएका छन् । भीमेश्वर कन्ट्रक्सनका प्रोपाइटर खड्काले जिल्लामा अक्सिजन अभाव र स्वास्थ्य सामाग्री अभावका कारण संक्रमित बढेको र ज्यानै जान थालेको खबर सुनेपछि स्वास्थ्य सामग्री वितरण गर्न आफू जिल्ला आएको बताए ।
उनले आफ्नो गाउँपालिका मेलुङमा हरेक स्वास्थ्य चौकीलाई पुग्ने गरी ६ वटा अक्सिजन कन्सन्ट्रेटर वितरण गरे । गाउँपालिका भित्र हरेक नागरिकलाई पुग्ने गरी ३५ हजार मास्क र ७५ लिटर सेनिटाइजर समेत वितरण गरेका छन् ।
त्यसैगरी भीमेश्वर नगरपालिकामा ३ वटा र गौरीशंकर गाउँपालिका वडा नं. १ र २ का लागि एउटा अक्सिजन कन्सन्ट्रेटर वितरण गरेका छन् । भीमेश्वर नगरपालिकाले अस्पतालमा सञ्चालन गर्ने गरी अक्सिजन कन्सन्ट्रेटर प्रयोगमा ल्याउने भएको छ । चरिकोट अस्पतालमा जिल्लाभरका विरामीहरु उपचारका लागि आउने गरेका छन् । खड्काले भीमेश्वर नगरपालिकालाई १० हजार र गौरीशंकर गाउँपालिका वडा नंं १ र २ का लागि ५ हजार थान मास्क वितरण गरेका छन् । अक्सिजन अभावमा कोरोना संक्रमितहरुको ज्यान जान थालेपछि आफैं विद्युतको लाइनमा जोडेपछि उत्पादन हुने गरी गरी अक्सिजन कन्सन्ट्रेटर वितरण गरेको बताए । सबै सामग्रीका लागि व्यक्तिगत रुपमा १५ लाख लगानी गरेको उनले बताए ।आफूले ६ वर्ष अघि विनासकारी भुकम्प जाँदा पनि गाउँमा राहत ल्याएर वितरण गरेका थिए भने कोरोनाको पहिलो लहरमा पनि काठमाडौंमा अलपत्र परेका मेलुङबासीलाई गाउँ फर्काउन यातायात व्यवस्थापन र राहत वितरण गरेका थिए ।
दुःखमा गाउँ पुगे बराइली
आफ्नै गाउँमा एकै पटक धेरै जना संक्रमित भएपछि भक्तपुर सूर्य विनायकमा व्यवसाय गर्दै आएका डिल्लीराज बराइली आफ्ना साथीहरु सहित जन्म स्थान जुँगू पुगे । उनले काठमाडौंमा आफ्ना साथीभाईसँग सहयोग संकलन गरेर एन्टिजिन किट, १२ हजार थान मास्क, ५० लिटर सेनिटाइजर, फेस सिल, सिटामोल, भिटामिन सी र डी बोकेर गाउँ पुगेर स्थानीय वडाध्यक्षलाई हस्तान्तरण गरेर फर्किए ।
मेरो लागि मेरो सहयोग अभियान सञ्चालन गरेर गाउँका लागि सहयोग गरेको उनले बताए । कोरोना संक्रमणबाटै गाउँमा एक जनाको ज्यान समेत गएको छ । अहिले ३८ जना सक्रिय संक्रमित छन् । गाउँभरी कोरोना संक्रमण बढेपछि गौरीशंकर गाउँपालिकाले वडा नं. १ र २ ५ दिनका लागि सिल गरेको छ ।
आफ्नो साथीको गाउँमा अप्ठ्यारो पर्दा आफू पनि सहयोग गर्न गाउँ पुगेको भुजिकिक हाउजिङका अध्यक्ष पूर्ण लिम्बूले बताए । सूर्यविनायक नगरपालिकाका वडा नं. ८ का वडा अध्यक्ष किरण थापा सहितको सहयोगमा आफूले दुर्गम गाउँमा सहयोग गर्न स्वास्थ्य सामग्री लिएर आएको उनले बताए । मनकारी व्यक्तिहरुको सहयोगले अब जनता बचाउन सकिनेमा आफू आशावादी भएको गौरीशंकर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष बसन्त कार्कीले बताए ।
Leave a Reply