प्रेममा नवराजलाई पूर्णरूपमा विश्वास थियो । प्रेमिका सुष्माले बोलेको हरेक कुरा उनी जीवनमा उतार्न खोज्थे । सानो घर बसाउन नवराज सपनामा सुष्मालाई नै लिएर हिँड्थे । माथिको गीतमा भनिएजस्तो न नवराजले सुष्मालाई मदनको जस्तो माया दिन पाए, न सुष्माबाट मुनाको जस्तो त्याग देख्न पाए । प्रेमकै कारण आफैँ विलीन भएर अस्ताए ।
मुना–मदनको प्रेम र त्यागलाई आत्मसात गर्दै ‘प्रसाद’ सिनेमाको कथाजस्तै सानो संसारमा रम्ने चाहना बोकेका नवराजलाई अन्ततः कथित दलित भन्ने जातले नै विलीन बनायो । थुप्रै गायकले प्रेमको परिभाषा दिएका छन् । छुवाछुत तथा जातीय भेदभाव कानुनले बर्जित गरेको छ तर उनी जातीय भेदभावकै सिकार बने ।
नवराज खेलकुदमा रुची राख्थे । उनी सुष्माको मायामा पागल थिए । सुष्माकै आग्रहमा दुलही लिन रुकुमपश्चिम पुगे । उनले त्यो दिन आफ्नो घरबाट सुष्माको घर नजिक आउँदा कति सपना बुने होला ! उनले बाटोमा साथीहरूसँग हिँडदै गर्दा कतिपटक सुष्मालाई मनको भित्तामा सजाए होला ! उनी कति खुशी थिए होला ! साथीहरूसँग हिँड्दा कतिपटक सुष्मालाई नै सम्झे होला ! आफ्ना र बाआमाका सपना बोकेर नवराज विलीन भए ।
एउटा दलितको सहादतबाट सुरु भएको जनयुद्धको फल आज कथित माथिल्लो जातले लिएका छन् । के उनीहरूले कहिल्यै दलितको रगतबाट अघि बढेको जनयुद्धको लाभमा आफूसरह दलितलाई सहभागी गराए ?
नवराज आफ्ना बाआमाको विलौना सुन्दै होलान् कि ! बाआमाले गरेको विलौना सुनेर उनी पापी दुनियाँलाई भन्दा पनि आफ्नै जातलाई धिक्कार्दै होलान् । उनी मानिस भएरै जन्मिएका थिए । सुष्मा जसरी नै हुर्किएका थिए । उनी पनि सुष्मा झैँ आमाको काखबाट ठूलो हुँदै चौरजहारीसम्म पुगेका थिए । सुष्मा कथित माथिल्लो जातकी भइन्, नवराज कथित तल्लो जातका ।
सुष्मा एसइइ दिने तयारीमा थिइन् । भर्खरै १७ टेकेकी उनी नवराजको नजरमा रानी थिइन् । भर्चुअल दुनियामा उनीहरूको सम्बन्ध प्रष्ट हुन्छ । फेसबुकका भित्ताभरि नवराजले सुष्माको प्रेममा थुप्रै शब्द खर्चेका छन् । सुष्मा पनि प्रेमका शब्दहरूबाट नवराजको मुटुमा बस्न खोजेकी छन् ।
सुष्माको उमेर पुगेको थिएन, नवराजले जबर्जस्ती बिहे गर्न दबाब दिएका थिए भन्न सकिएला । लकडाउनको वेला नवराज आफूसहित १९ जना किन गए भन्न पनि सकिएला ।
यस्ता प्रश्न उठाएर नवराजमाथि दोष थोपर्न सकिएला तर नवराज र सुष्माले एक अर्कालाई माया गरेको कुरा कतै लुकेको छैन । अझ, सुष्मा नवराजको घरमा गएर बास बसेको कुराले मायाको गहिराइ थप प्रष्ट हुन्छ ।
सुष्माले आफूलाई लिन आउनू भनेर नवराजसँग गरेका फेसबुक च्याट पनि सार्वजनिक गरिएका छन् । सुष्माले साथी लिएर आउनू भनेकी छन् । नवराजले एक्लै आउँछु भने पनि सुष्माले साथी लिएर आउन भनेकी छन् । यता नवराजले एक्लै आउने, सुष्माकी आमाले थाहा पाए पहिलेजस्तै हुने आशंका व्यक्त गरेका छन् । आफ्नो प्रेमलाई समाजले नै अस्वीकार गरेको भन्दै नवराजले आफू त्यहाँ पुगेको थाहा पाए आफू मारिन सक्ने शंका पनि प्रकट गरेका छन् । नभन्दै उनी दुनियामा रहेनन् ।
जातीय अहंकारले अन्तत नवराजलाई भगवानको प्यारो बनाइदियो । उनी यो दुनियामा छैनन् । उनका अन्य पाँच जना साथी पनि उनीसँगै विलीन भए । उनले गरेको प्रेम भने अमर रहनेछ ।
नेपाललाई २०६८ सालमा छुवाछुतमुक्त देश घोषणा गरिएको हो । रुकुमलाई पनि धुमधामका साथ छुवाछुतमुक्त जिल्ला घोषणा गरिएको थियो । सुष्माका बाआमाले समेत उक्त र्यालीमा सहभागी भएर नारा लगाए होला । छुवाछुतलाई अपराध मानिनेछ भन्दा ताली बजाए होला । रुकुममा माओवादीको प्रभाव राम्रो भएकाले त्यहाँ हुने साना कार्यक्रम पनि भव्य हुने गर्छन् ।
दश वर्ष पनि नबित्तै आफ्नी छोरीको प्रेमिका नै कथित दलित परेपछि ती भाषण, ताली सबै भुलेर उनीहरू आक्रमणमा उत्रिए ।
यतिबेला जाजारकोट–रुकुम शोकमग्न छन् । चौरजहारी नगरपालिका–८ सोतीमा भएको हत्याको घटनामा जाजारकोट–रुकुममा युवाहरू मारिएका छन् । ती युवाहरू देशको सीमा बचाउन या कुनै देशभक्त आन्दोलन लडाइँमा मारिएका हुन्थे भने आज उनीहरूका बाआमा छोराको बलिदानमा गर्व गर्ने होला ।
आज उनीहरू मानवतामाथिको अपराधमा पिल्सिएका छन् । कथित जातीय विभेद र छुवाछुतका कारण अकालमा ज्यान गुमाएका छन् । प्रेमप्राप्तिका खातिर ज्यान गुमाएका नवराजले प्रेमप्रतिको विश्वास झन प्रगाढ बनाएका छन् । प्रेमयुद्धमा नवराजले जसरी जातीय कारणले कसैले पनि ज्यान गुमाउनु नपरोस् ।
आज जातीय कारणले जाजरकोटका ६ जना आमाको कोख रित्तिएको छ । दिदीबहिनीले दाजुभाइ गुमाएका छन् । आमाबाबुमा सन्तान गुमाउनुको असह्य पीडा छ । अब प्रेमप्राप्तिमा कोही ‘नवराज’ बन्नु नपरोस् । नवराजका साथीहरूको नियति नदोहोरियोस् ।
प्रेम सम्बन्धकै कारण दलितको हत्या किन हुन्छ ? दलित चेलीहरूमाथि किन बलात्कार हुन्छ ?
नेपाल छुवाछुतमुक्त घोषणापछिका केही प्रतिनिधि घटनाले दलितमाथिको बर्बरताको उजागर गर्छन् । अन्तर्जातीय विवाहका कारण २०६९ सालमा सप्तरीका शिवशंकर दासले ज्यान गुमाए । सोही वर्ष दैलेखका सेते दमाई समेत अन्तर्जातीय विवाहका कारण मारिए । २०७० मा तनहुँकी संगीता परियार, २०७३ मा झापाकी अस्मिता सार्की, २०७३ मै काभ्रेका अजित मिजार अन्तर्जातीय विवाहका कारण मारिए ।
बलात्कार, छुवाछुत, बोक्सी आरोप र अन्य हत्या त बाँकी नै छन् ।
नवराजको हत्या भएकै दिन रूपन्देहीको देवदह–११ बड्की गुम्मीकी किशोरी अङ्गिरा पासीको पनि बलात्कारपछि हत्या भएको छ । उनी पनि दलित समुदायकी किशोरी हुन् ।
देशभर दलित समुदायमाथि बलात्कार हत्याका घटना बढेका छन् । यी किशोरीलाई समेत गाउँलेहरूले वीरेन्द्र भरले करणी गर्दै गरेको भेटाएपछि उनको जिम्मा लगाएका थिए । भरले उनलाई विवाह गरेको स्वीकार गर्दै घर लगेका थिए । भोलिपल्ट उनी रुखमा झुण्डिएको अवस्थामा फेला परिन् ।
यसरी नेपाली समाजमा दलितमाथि बर्बरता देखिन्छ । अजित मिजारको शव अझै त्रिवि शिक्षण अस्पतालमै छ । उनको परिवारले न्याय नपाउन्जेल शवको सत्गत् नगर्ने जनाएका छन् । उनको परिवारको विलौना कसैले सुनेको छैन ।
सोती काण्डले उब्जाएका प्रश्न
अहिलेको समाजमा विभेदको बारेमा यति धेरै सोच्नुपर्ने अवस्था सामान्य होइन । सोतीमा मारिने ६ जनामा दलित समुदायका मात्रै नभएर अन्य समुदायका युवा पनि छन् । उनीहरूले एउटा दलितलाई साथ दिएकै कारणले ज्यान गुमाउन प¥यो । अहिले कतिपयले दलितले मात्रै न्याय पाउनुपर्छ भन्ने कुरा उठको भन्दै घटना अन्तै मोड्ने प्रयत्न गरेका छन् । तर, हामीले यस घटनाका दोषीलाई कारबाही र मृतकका परिवारलाई न्यायको कुरा भुल्न हुँदैन ।
अझ रोचक त के छ भने, जो नेताहरू अहिले विभिन्न पदमा आसीन छन् तिनले जातीय र वर्गीय मुक्तिको कुरा गरेर आममानिसलाई क्रान्तिमा होमेका थिए । आज तिनै नेता मौन रहनु थप आश्चर्यजनक भएको छ । आज सत्तारुढ दलका प्रमुख नेताहरूले यो घटनाबारे मुख खोल्न चाहेका छैनन् ।
सर्वसाधारण मानिसहरू सोती घटनामा शीर्ष नेताको साथ र भरथेग खोजिरहेका छन् । मुक्तिको पक्षपोषण गर्ने नेताहरू जातीय विभेद र छुवाछुत जस्तो अपराध देखेर पनि नदेखे झै गर्छन् भने त्यो नेतृत्वबाट थप आशा नगर्दा बेस हुनेछ ।
यति ठूलो अपराध र अन्यायमा समेत हाम्रो नेतृत्व बोल्न चाहँदैन भने दलित समुदायले अझै किन यो नेतृत्व मानिरहनुपर्ने ? हाम्रो समुदायका मानिसहरू दिनरात गरेर जघन्य अपराधका शृङ्खलाबद्ध आक्रमणमा परिरहने हो भने हामीले अर्को क्रान्ति किन नगर्ने ? हाम्रा सीपले बनाएका औजारहरू किन प्रयोग नगर्ने ? अझै दमन शोषण सहेर बस्ने ?
अबका प्रश्न यिनै हुन् । अब दलित समुदाय आफूमाथिको दमन र भेदभाव सहेर बस्ने भने होइन । अब हामीले आफ्नो भाग्य आफैँले कोर्नुपर्छ । मानिस भएर बाँच्ने अवसर प्राप्त गर्नुपर्छ ।
नेपाली समाज र कथित दलित
नेपाली समाज रूपान्तरण भएको र समाजवादउन्मुख संविधान पाएको भनिरहँदा मानवतामाथि हुने यस्ता आक्रमणले कतै गिज्याइरहेको त छैन ! नेपालमा परिवर्तनका खातिर विभिन्न आन्दोलनमा दलित समुदायले गरेको योगदान अरू कसैको भन्दा कम छैन । सोही समुदायमाथि अत्यन्तै अमानवीय ढंगले हुने आक्रमणले हाम्रो समाज कता जाँदैछ भन्ने प्रश्न उठेको छ ।
रुकुमपश्चिममा भएको सामूहिक हत्याले यो कुरा थप टड्कारो बनाएको छ । सरकार र सत्ताले अब यो समुदायमाथि राजनीति गर्नेभन्दा साँच्चै अधिकारसम्पन्न बनाउने कि नबनाउने भन्ने निक्र्यौल गर्नै पर्छ ।
झण्डै ६० लाख दलितहरूले राज्यमाथिको गर्विलो विश्वास र भरोसा गरेकै कारण आज सामुदायिक हिंसा भड्किनबाट रोकिएको छ । सिङ्गो दलित समुदायले संयम अपनाउँदै अधिकारका लागि राज्यलाई दबाब दिएको छ ।
राज्यले आलटेल गरेर आमदलितको भावनामाथि खेलवाड गर्ने अवस्था आइपरे यहीँबाट विद्रोह सुरु हुनेछ । शासक क्रुर र एकतन्त्रीय बन्दा राणा र राजा पतन भए । त्यसरी नै नेपालमा अर्को क्रान्तिको सुत्रपात हुनेछ ।
दलित पनि अन्य मानिसजस्तै जन्म, विवाह र मृत्यु संस्कार मान्छ । ऊ पनि मानिस हो । समाजमा ऊमाथिको विभेदको अन्त्य सिङ्गो मानव जातिको रक्षा र सम्मान हो ।
२०६८ सालपछि कालिकोटको मनवीरे सुनारदेखि रुकुमपश्चिमको सोतीमा जातीय विभेदका आधारमा भएको बर्बर सामूहिक हत्याकाण्डसम्मका घटना र दलित समुदायमाथिको शृङ्खलाबद्ध ज्यादतीमा राज्य मुकदर्शक देखिन्छ । कानुन कार्यान्वयन किन हुँदैन ? रगत सबैको एउटै हो भन्ने मान्यतामा किन लात हानिन्छ ?
दलितका पक्षमा भनिएका घोषणाहरू कागजमा सीमित छन् । अनेक घोषणा र कानुनका बीच हामी आफैँ जिम्मेवार बनेर न्याय र समानताको आन्दोलन गर्न तयार हुनुपर्छ । बर्बर अमानवीय घटना रोक्न राष्ट्रिय संकल्प हुनै पर्छ ।
नेपालमा राजतन्त्रको अन्त्य गर्न माओवादी जनयुद्धको भूमिकामा सन्देह छैन । जनयुद्धको भक्तिगान गाएको भनौँ वा साँचो बोलेको भनौँ, जसले जुन अर्थ लगाए पनि, नेपालको शासनव्यवस्था र राज्यप्रणाली परिवर्तनमा जनयुद्ध (कसैको नजरमा सशस्त्र युद्ध) ले ठूलो योगदान गरेको हो । जनयुद्धको थालनीमा पहिलो सहादत प्राप्त गर्ने दलित नै थिए, दिलबहादुर रम्तेल ।
एउटा दलितको सहादतबाट सुरु भएको जनयुद्धको फल आज कथित माथिल्लो जातले लिएका छन् । के उनीहरूले कहिल्यै दलितको रगतबाट अघि बढेको जनयुद्धको लाभमा आफूसरह दलितलाई सहभागी गराए ?
मानवताकै उपहास हुने दुःखद घटनाका पीडितलाई न्याय दिन हामी सबै मानव बनौँ, न्यायिक बनौँ ।
सोती घटना जातीय विभेद र छुवाछुतकै परिणाम हो । अहिले केही मानिसहरू १७ वर्षीय किशोरीलाई अपहरणशैलीमा लिन गएको, लकडाउन उल्लंघन गरेको जस्ता आरोप लगाएर तथ्य मोड्न उद्यत छन् । यहाँ कसैमाथि हिलो छ्याप्ने खोजिएको होइन । हाम्रो समाजको चिन्तन दलितको भावना र मानवताविरुद्ध छ ।
यसको अर्थ सबै मानिस दलितविरोधी छन् भन्न खोजिएको होइन तर, जातीयताको रङ यसरी छ्याप्न खोजिँदैछ कि मानौँ नवराज आफ्नै कारणले मारिएका हुन्, घटनामा कथित माथिल्लो जातका मानिसहरूको गल्ती छैन ।
नवराज र सुष्माले जातीय पर्खाल भत्काउने मान्यता राखेर प्रेम गरे । त्यही प्रेमले नवराजको जीवन अहुति लियो । नवराज एक प्रतिनिधिपात्र हुन् । हरेक दिन दलित समुदायका मानिसहरू विभेद र छुवाछुतको सिकार बनेका छन् । दलित समुदायको पानीमात्रै होइन प्रेम पनि चलेन ।
अहिले प्रहरी अनुसन्धानमा रहेका चौरजहारी नगरपालिका–८ सोतीका वडाध्यक्ष डम्बरबहादुर मल्लसहितका व्यक्तिहरूको संग्लग्नता पुष्टि हुन्छ हुन्न त्यो तथ्य आउला नै । मुख्य सवाल यो हो कि वडाध्यक्ष घटनालाई उत्तेजित र अराजक बनाउन संगलग्न भएका हुन भने त यो अति गम्भीर बन्नेछ ।
वडा अध्यक्ष आफैँ वडाको सरकार प्रमुख हो । सोती हत्याकाण्डलाई देशभर भएका अन्य घटनाको शृङ्खलाको रूपमा मात्र लिन सकिन्न । यसलाई मानवतामाथिको जघन्य अपराध मान्नुपर्छ ।
सत्य नडग्दासम्म हत्यामा संग्लग्न दोषीहरू कोही पनि उम्कने छैनन् भन्ने विश्वास लिएको छु । मानवताकै उपहास हुने दुःखद घटनाका पीडितलाई न्याय दिन हामी सबै मानव बनौँ, न्यायिक बनौँ ।
अकल्पनीय घटना भयो । अब पीडित परिवारले न्याय पाउँछन्, पाउँदैनन् भन्ने कुरा घटनाको प्रहरी मुचुल्कामा समेत भर पर्नेछ । प्रहरीले कसैको प्रलोभनमा नपरी निष्पक्ष भएर मुचुल्का उठाएको छ भने दोषीहरू उम्किने छैनन् । यो घटनाले कस्तो रूप लिन्छ भन्ने कुरा पनि आम चासो बनेको छ । सत्यको जित हुन पनि इमानदारी जरुरी छ ।
सोती हत्यकाण्डजस्तो अपराध अब देशको कुनै पनि कुनामा नदोहोरियोस् भन्नेतर्फ राज्यको ध्यान पुग्नुपर्छ । घटनाका योजनाकार र संलग्न सबैले सजाय पाउनुपर्छ । सोती हत्याकाण्ड नै जातीय विभेदको अन्तिम घटना बन्नुपर्छ
Leave a Reply