दाेलखा २६ बैशाख । गौरीशंकर गाउँपालिका–२, जुँगुको वडाकार्यालय जनप्रतिनिधिले गैरकानुनी रुपमा सार्न खोजेपछि स्थानीयले बैठकपुस्तिका नियन्त्रणमा लिएर कार्यालयमा तालाबन्दी गरेका छन् ।
करिब ४० बर्षदेखि निरन्तर सेवा प्रवाह गरिरहेको कार्यालय एकाएक पाएक नपरेको भन्दै जनप्रतिनिधिले नै गैरकानुनी रुपमा वडाकार्यालय सार्न खोजेपछि बडाकार्यालयको बैठकपुस्तिका नियन्त्रणमा लिएर कार्यालयमा तालाबन्दी गरेको प्रेस विज्ञप्ती जारी गरी स्थानीयले जनाएका छन् ।
शुक्रबार कार्यालय सार्नको लागि बसेको बैठकमा होहल्ला समेत भएको एक स्थानीयले जानकारी दिए । हाल रहेको कार्यालय परिसरमै करिब ७ रोपनी जग्गा वडाकार्यालयकै नाममा हुँदा हुँदै करिब ३ सय मिटरको दुरीमा कार्यालय सार्न खोज्नु जनप्रतिनिधिको राजनीति मात्र रहेको एक स्थानीयको आरोप छ ।
वडा कार्यालय निर्माणको लागि शुक्रबार उपभोक्ता समिति गठन गर्नको लागि बैठक बोलाइएकोमा स्थानीयले दिएको सुझाव कार्यान्वयन नभएको कारण तालाबन्दी गर्नुपरेको स्थानीय भीष्मप्रकाश खड्काले जानकारी दिए । स्थानीय करिब ७० जनाले दशकौँदेखि पाएक परेर विना विवाद कार्यालय सञ्चालन भईरहेको बेला कार्यालय नै सारेर नयाँ भवन बनाउने भन्ने निर्णय लेख्ने क्रममा बैठक पुस्तिका नियन्त्रणमा लिनु परेको उनको भनाई छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले तालाबन्दीको जानकारी प्राप्त भए लगत्तै प्रहरी परिचालन गरिएको जानकारी दिए । स्थानीयसँगको कुराकानीमा गैरकानुनी रुपमा कार्यालय नसार्न गरेको अनुरोधलाई बेवास्ता गरी छलफल र सहमति विना नै उपभोक्ता समिति गठन गर्न लागिएकोमा विवाद भएको बुझिएको प्रजिअ शर्माले जानकारी दिए ।
तालाबन्दी र बैठकपुस्तिका नियन्त्रणको विषयमा वडाध्यक्ष बसन्त कार्कीसँग सम्पर्क गर्न खोज्दा मोबाइल अफ गरेर बसेको पाइएको प्रजिअ शर्माले जानकारी दिए ।
Leave a Reply