वैशाख ४ : विश्वभर फैलिएको कोरोना भाइरसको महामारीसँग जुध्न सरकारले कोरोना रोकथाम तथा नियन्त्रण कोषको स्थापना गरेको छ। ५० करोड रूपैयाँ राखेर सरकारले स्थापना गरेको कोरोना कोषमा अहिलेसम्म दुई अर्बभन्दा बढी रकम जम्मा भएको छ।
तर, सरकारको नेतृत्व गरिरहेको सत्तासीन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भने पार्टीका तर्फबाट एक रुपैयाँ पनि सहयोग गरेको छैन। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले कोरोना नियन्त्रणमा नआएसम्म र पार्टीका प्रवक्तासमेत रहेका राष्ट्रियसभाका सांसद् नारायणकाजी श्रेष्ठले एक वर्षको तलब नलिने घोषणा गरेका छन् ।
तर, ओलीले नै नेतृत्व गरेको पार्टीले भने कोरोना कोषमा अहिलेसम्म पार्टीका तर्फबाट एक रूपैयाँ पनि सहयोग नगरेको हो। यद्यपी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले कोष खडा गरेकै दिन ५० लाख रुपैयाँ सहयोग गरिसकेको छ।
गत चैत ११ मा नेकपा संसदीय दलले प्रतिनिधि र राष्ट्रियसभाका सांसदको १५ दिनको पारिश्रमिक सरकारले स्थापना गरेको उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो। तर, सांसदहरुले गरेको सहयोग रकम पनि अहिलेसम्म कोषमा जम्मा भएको छैन। प्रधानमन्त्री कार्यालयको बेवसाइटमा राखेको विवरणमा नेकपाका नामबाट अहिलेसम्म सहयोग भएको उल्लेख छैन।
नेकपा उपाध्यक्ष बामदेव गौतमका अनुसार पूर्वएमाले र पूर्वमाओवादी एकतापछि बनेको नेकपासँग अहिले दुई अर्बभन्दा बढी चल पूँजी रहेको छ। पूर्वएमालेसँग अचल सम्पत्ति भने अलिक बढी छ। उनका अनुसार नेकपाका करिब ८ लाख सक्रिय सदस्य रहेका छन्। उनीहरुले पार्टीलाई मासिक लेबी तिर्छन्। लेबीबाटै करिब पाँच करोडभन्दा बढी मासिक आम्दानी छ नेकपाको। त्यसमा पनि पार्टी सरकारमा भएकाले राजनीतिक नियुक्ति लगायतबाट पनि नेकपाले लेबी उठाउने गरेको छ।
लेबीमात्रै हैन नेकपाले अहिले पनि विभिन्न व्यक्ति र संस्थाहरुबाट चन्दा तथा सहयोग पनि उठाउँछ। तर, नेकपाले किन अहिलेसम्म कोरोना रोकथाम तथा नियन्त्रणका लागि एक रुपैयाँ पनि सहयोग गर्न चाहेन? उपाध्यक्ष गौतम भन्छन्, ’दुवै अध्यक्ष (ओली र प्रचण्ड) र महासचिव विष्णु पौडेलले कति सहयोग गर्ने भनेर निर्णय गरे भइहाल्छ नि। ५० करोडभन्दा बढी दिए हुन्छ। किन दिएको भनेर कसैले पनि विरोध गर्दैन। पार्टीको बैठकमा हिसाव सुनाए भइहाल्छ त।’
नेकपाले अहिले प्रतिनिधि र प्रदेशसभाका सांसदबाट पनि नियमित लेबी उठाउँछ। प्रतिनिधिसभाका सांसदबाट मात्रै जनही मासिक १० हजार रुपैयाँ उठाउँछ। अहिले नेकपाको औपचारिक आम्दानीनै १० करोडभन्दा माथि रहेको एक सचिवालय सदस्यले बताए।
सरकारले कोरोना परीक्षणका लागि आवश्यक मेडिकल सामग्री खरिद गर्दा अनियमितता भएको भन्दै चौतर्फी विरोध भएपछि नेकपाको २५ चैतमा सचिवालय बैठक बसेको थियो। उपाध्यक्ष गौतमका अनुसार सो बैठकमा कोरोना कोषमा सहयोग गर्नेबारे कुरा उठेपनि निर्णय भएन। यता नेकपा स्थायी समिति सदस्य युवराज ज्ञवालीले पार्टीले आधिकारिक रुपमा सहयोग गर्नेबारे जानकारी नगराएको बताए।
कोषमा कति भयो जम्मा ?
कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अहिलेसम्म दुई अर्ब दुई करोडभन्दा बढी रकम जम्मा भएको छ।
कोरोना रोकथाम कोषमा रकम जम्मा गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १९६०००००११०१ मा रकम जम्मा गर्न पनि सकिन्छ ।
तर, अहिलेसम्म निजी क्षेत्र तथा व्यापारीहरुले भने सो कोषमा मुस्किलले तीन प्रतिशतमात्रै सहयोग गरेका छन्। बाँकी रकम भने विभिन्न क्षेत्रमा रहेका सरकारी पैसा नै हो। savar
Leave a Reply