दीपशंकर चौलागाई । असारमा पहिलो युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन गर्ने कार्यतालिका रहेकोले लकडाउनको समयमा पनि सरकारले तामाकोशी जलविद्युत आयोजनाको काम नरोक्ने जनाएकोछ ।
सरकारले ठूला आयोजनाले बाहिरका कामदारलाई प्रवेश नदिई स्थानीय प्रशासनको सहजीकरणमा काम गर्नसक्ने निर्णय गरेकोले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको तामाकोशी आयोजनाको काम चालू रहने भएको हो ।
आयोजना रहेको वडाका वडाध्यक्ष नारायण गुरुङ र स्थानीय सुरक्षा निकायहरूसँगको उपस्थितिमा सहजीकरण समन्वय बैठक गरि काम चालू रहने निर्णय गरेको आयोजनाका प्रबक्ता डाक्टर गणेश न्यौपानेले बताए ।
न्यौपानेले भने स्थानीय तह, स्थानीयबासी, स्थानीय प्रशासन र सुरक्षा निकायहरूको आपसी सहकार्य, सहयोग र समन्वयमा हाल आयोजनास्थलमा रहेका कामदार र कर्मचारीहरू मात्रै परिचालन गरी निर्माण कार्यलाई पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय भएको छ ।
आगामी असारभित्र आयोजनाको पहिलो युनिट सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको उनले दाबि गरे । लकडाउन अवधिमा बाह्य आगमन पूर्णरूपमा निषेध गरिएको र आयोजनास्थलमा रहेका सबैको स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिने छौं न्यौपानेले प्रतिबद्धता जाहेर गरे ।
आयोजनाको बाँध तथा बालुवा थिग्राउने पोखरीको समेत परीक्षण गरेकाले आयोजनाकोे कुल भौतिक प्रगति ९९ दशमलव तीन प्रतिशत पुगेको उनले बताए ।
स्वदेशी लगानीमा निर्धाणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रमुख काम करिब सम्पन्न हुने चरणमा पुगेको छ ।मात्रै आयोजनाको जटिल मानिएको दुई वटा ठाडो सुरुङमा पाइप जडान गर्ने काममा भने अपेक्षित प्रगति भएको छैन ।आयोजनाका अनुसार बाँध, मुहान गेट र डिसेन्डर बेसिन (बालुवा थिग्राउने पोखरी) मा पानी भरेर परीक्षण गरिएको छ र त्यो सफल भएको छ ।सबैभन्दा जटिल ठानिएको आयोजनाको तल्लो साफ्टमा तीन सय ७३ मिटरमध्ये दुई सय ७० मिटर पाइप जडान र माथिल्लो साफ्टमा ३१० मिटरमध्ये १५० मिटरको काम सकिएको छ ।
पाइप जडानको काम आगामी वैशाख महिनाभर सकिने दावी गरिए पनि लकडाउनका कारण काम रोकिएपछि लक्ष्य प्रभावित हुने अवस्था आएको छ । ठाडो सुरुङको कामपछि माथिल्लो र तल्लो ठाडो सुरुङका बीचमा रहेको तेर्सो भागमा पाइप जडान गरिनेछ ।
Leave a Reply