काठमाडौं १८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।
पूर्वराजा शाहले मंगलबार एक प्रेस वक्तव्यमार्फत २ करोड सहयोगको घोषणा गर्दै भनेका छन ‘दुःख कष्ट र आपत(विपदको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रोतर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं ।’
ज्ञानेन्द्र शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी पक्षबाट भैरहेको कामको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउनुपर्ने बताएका छन । ‘यो अवस्थाबाट मुक्त हुन ‘लकडाउन’ नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ ।’ज्ञानेन्द्र शाहले भनेकाछन ।
‘महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान र्पुयाउने सञ्चारकर्मी एवं पत्रकारहरूप्रति हामी आभारी छौँ ।’त्यसैगरी, आम नेपालीले दुःखको घडीमा अभाव र समस्या सहेर पनि कोरोनाविरुद्ध लड्न अनुशासन तथा धैर्यता दर्शाएको भन्दै पूर्वराजाले यसको उच्च सराहना गर्ने बताएका छन् ।
Leave a Reply