खाडी मुलुकबाट आएका थिए कोरोनाका तेस्रो संक्रमित

 पब्लिक संवाददाता      बुधबार, चैत्र १२, २०७६      0

काठमाडौं : नेपालमा कोभिड-१९ (कोरोना भाइरस) का तेस्रो संक्रमित भेटिएका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पठाएको नमुना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। उनी खाडी मुलुकबाट हालै मात्र नेपाल आएको खुलेको छ। तर उपचारमा संलग्न चिकित्सक र केन्द्रीय प्रयोगशालाले उनी खाडीको कुन देशबाट आएको भन्‍ने खुलाएका छैनन्। वैदेशिक रोजगारीबाट आएपछि बिरामी परेका उनी स्वास्थ्य परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए। उनको त्यहाँस्थित केन्द्रीय प्रयोगशालामा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।  उनको अहिले टेकु अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ। कोरोनाका शंकास्पद बिरामीको टेकु र पाटन अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार गरिँदैछ। सरकारले बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा पनि कोरोनाका बिरामीको उपचार गर्ने बताएको छ। तर त्यहाँ अझै बिरामी राख्ने व्यवस्था गरिएको छैन। सरकारले यसअघि नै भारतसहित अन्य देशबाट आएका सबैले अनिवार्य क्‍वारेन्टाइनमा बस्नै पर्ने प्रावधान गरेको छ। विदेशबाट आएका धेरै नेपाली क्वारेन्टाइनमा नबसिदिँदा कोरोनाको जोखिम बढ्दै गएको छ।  नेपालमा कोरोनाका पहिलो बिरामी चीनबाट आएका थिए। उनी उपचारपछि ठीक भइसकेका छन्। दोस्रो बिरामी फ्रान्सबाट आएकी थिइन्। चैत ४ गते काठमाडौं आएकी उनको अहिले टेकु अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ। यसअघि फ्रान्सबाट आएकी एक युवतीसँगै चैत ४ मा आएका १५८ यात्रुको पनि सरकारले खोजी गरिरहेको छ। कतार एयरवेजको जहाजमा आएकामध्ये १२५ जनालाई पत्ता लगाइसकेको प्रहरी प्रवक्ता एआईजी शैलेश थापाले बताएका छन्। अन्य ३३ जनाको खोजी भइरहेको उनले जानकारी दिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *