प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ‘धर्म छोरा’ मान्ने गोकुल बाँस्कोटा ७० करोड रुपैयाँ घुस काण्डमा मुछिएपछि झण्डै दुई तिहाइ बहुमतको नेकपाको सरकार भ्रष्टाचारमा लिप्त रहेको खुलासा भएको छ।
अहिलेसम्म सार्वजनिक भएका भ्रष्टाचार काण्डमा ओली नेतृत्वको मन्त्रिपरिषद्का प्रवक्ता बाँस्कोटाको अडियो काण्ड सबैभन्दा ठूलो घुस काण्ड हो। प्रधानमन्त्री ओलीले दुई महिनाअघि नै उक्त घुस काण्डको अडियो सुनेका थिए। र, त्यो अडियोमा भने अनुसार सञ्चारमन्त्रीले घुसमा मागेको विषयमा प्रधानमन्त्री ओली पनि जानकार थिए। त्यसको पुष्टि तीन दिनअघि मात्रै बाँस्कोटाको गृहजिल्ला काभ्रेमा ओलीले बाँस्कोटाको मुक्तकण्ठले गरेको प्रशंसाले पुष्टि गर्छ।
ओलीले सत्ता सम्हालेको दुई वर्षको अवधिमा जनतालाई निराश बनाउने गरी एकपछि अर्को काण्ड थपिँदै गएका छन्। काण्डैकाण्डको सरकारको पहिचान बनाएको वर्तमान ओली नेतृत्वकाे सरकार ‘डेलिभरी’मा जति फितलो देखिएको छ, भ्रष्टाचारमा त्यतिक्कै अगाडि रहेको बाँस्कोटाको अडियो काण्डले पुष्टि गरेकाे छ।
पाँच महिनाको अन्तरालमै सत्तासीन दल नेकपाका दुई ‘शक्तिशाली’ नेता विवादमा मुछिएका छन्। गत असोजमा तत्कालीन सभामुख कृष्णबहादुर महरा र बुधबार वर्तमान सरकारका ‘शक्तिशाली’ मन्त्री बाँस्कोटा।
महराले संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पदमात्रै गुमाएनन्, पुर्पक्षका लागि थुनामा परे। उनले एक साताअघि मात्रै अदालतबाट सफाइ पाएका छन्।
महराले सफाइ पाएको एक साता नबित्दै केपी शर्मा ओली नेतृत्वको सरकारका शक्तिशाली मन्त्री सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घुस प्रकरणमा मुछिए। अडियो सार्वजनिक भएको १२ घन्टा बित्न नपाउँदै उनको पद गुम्यो।
आफ्नै कमजोरीका कारण उनीहरु बदनाम बन्न पुगेका हुन्। यो केवल सोझो बुझाइ हो। तर, नेकपाभित्रको शक्ति संघर्षलाई नियाल्ने हो भने यसलाई अन्य कोणबाट बुझ्न सकिन्छ।
मुख्य रुपमा हेर्ने हो भने महरा र बाँस्कोटा प्रकरणलाई तीन कोणमा विश्लेषण गर्न सकिन्छ। पहिलो, जो पात्र विवादको भूमरीमा फसेका छन्, तिनको मुख्य कारण व्यक्तिगत कमजोरी नै हो। दुवै प्रकरण व्यक्तिगत कमजोरीबिना घट्न सक्दैनन्।
दशैंको समयमा महरा यौन दुर्व्यवहारमा कसरी मुछिए, उनलाई कसले फसायो? त्यसका अनेक कारण होलान्। हुन त जिल्ला अदालतले उनलाई निर्दोष सावित गरिदिएको छ। अदालतकै फैसलालाई आधार मान्ने हो भने र उनलाई फसाइएको हो भने पनि उनका व्यक्तिगत कमजोरीबिना कसैले फसाउन सक्थ्यो त? पक्कै सक्दैन थियो। महरामाथि षड्यन्त्र गर्न उनकै कमजोरीमाथि टेकियो भन्ने कुरा कतै छिपेको छैन।
बाँस्कोटाको अडियो प्रकरणको कथा पनि उस्तै हो। अरुलाई सुशासन, इमान्दारिता र सदाचारको पाठ पढाउँदै हिड्ने उनले कसैसँग कमिसनको बार्गेनिङ गर्दै किन हिँडे? सायद ‘झ्याप्पै’ कमाउने सपना देख्ने उनको लोभी मनको दोष होला। सँगै करोडौंको डिल गर्दा अडियो रेकर्ड गर्न सक्ने र त्यो बाहिरिन सक्ने हेक्का बाँस्कोटाले गर्न सकेको देखिएन।
दुवैले आफ्ना कमजोरीलाई काबुमा राख्न सकेनन्, जसले उनीहरुको पद मात्रै गुमेन, जनविश्वास र सामाजिक प्रतिष्ठालाई समेत सखाप पारे। त्यसैले व्यक्तिगत कमजोरीबिना कसैले कसैलाई फसाउन सक्दैन। त्यसको भागिदार गल्ती गर्ने नै हुनेछन्।
यी दुवै प्रकरणलाई दोस्रो कोणबाट हेर्ने हो भने नेकपाभित्रको शक्ति संघर्षलाई नियाल्नुपर्ने हुन्छ। खासगरी ०७५ जेठ ३ मा तत्कालीन एमाले र माओवादीबीच एकता पश्चात नेकपाभित्र शक्ति संघर्ष उत्कर्षमा छ।
त्यसको पछिल्लो उदाहरण ‘जनयुद्ध’ दिवसमा देखिएको बबण्डरलाई हेरे पुग्छ। धुम्बराहीमा श्रद्धाञ्जली सभाका रुपमा मनाइएको सो दिवस रुकुममा पुग्दा जनयुद्ध दिवसमा परिणत भयो। र, पूर्वएमाले र पूर्वमाओवादी नेताहरुबीचको वाकयुद्ध छताछुल्ल बन्यो। यो मात्रै होइन, नेकपाभित्रका थुप्रै अन्तरविरोध बेला-बेलामा सतहमा आउने गरेका छन्। खासगरी ‘पूर्व’लाई कमजोर बनाउने र आफू उदाउने नीति दुवै समूहले लिएका छन्। त्यसैको नतिजाका रुपमा यी दुई प्रकरणलाई बुझ्न सकिन्छ।
यी दुई प्रकरणलाई अर्को कोणबाट समेत बुझ्न सकिन्छ। त्यो हो, नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का ‘दाहिने हात’ नै मख्खिएका छन्।जेलबाट निर्दोष सावित भएर निस्किएका महराले मिडियालाई दिएको अन्तर्वार्तामा आफूमाथि राजनीतिक षड्यन्त्र रचिएको दाबी गरेका छन्।
खासगरी उनले संसद्मा एमसीसी टेबुल गर्न नमान्दा आफूलाई फसाइएको दाबी गरेका छन्। उनले भनेका छन्, ‘ममाथि राजनीतिक षड्यन्त्र गरियो। एउटा एमसिसीको विषय पनि हो। ममाथि षडयन्त्र गर्नेहरु को–को हुन् भन्नेबारे विस्तारै भन्दै जानेछु।’
महरा प्रचण्डका खास सहयोगी थिए। १० वर्षे युद्धताका होस् वा शान्ति प्रक्रियापछिको खुला राजनीतिमा आएपछि। महराले जस्तो सुकै प्रतिकुल अवस्थामा समेत प्रचण्डको साथ छोडेनन्। पूर्वमाओवादी नेताहरुका अनुसार महराले अप्ठ्यारो परिस्थितिमा सल्लाहकारको भूमिका निभाउँदै आएका थिए। अझ भन्दा उनी प्रचण्डका बलिया पिल्लर थिए। सोही कारण प्रचण्डलाई कमजोर बनाउन महरामाथि षड्यन्त्र रचिएको चर्चा राजनीतिक वृत्तमा हुँदै आएको छ।
अहिले ठीक विपरीत प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिएका बाँस्कोटामाथि षड्यन्त्र रचिएको मान्नेहरु समेत छन्। ओलीका प्रिय, छुद्र बोली र खरो स्वभावका कारण बाँस्कोटालाई पूर्वमाओवादी त के पूर्वएमालेकै केहीले रुचाएका थिएनन्।
‘बा’ भनेर सम्बोधन गर्ने बाँस्कोटा र ‘धर्मछोरा’ मान्ने ओलीबीचको सम्बन्ध कस्तो थियो भनेर चर्चा गरिरहन परेन। दुई महिनाअघि नै ७० करोड घुस मागेको अडियो हेरेर पनि बाँस्कोटाको प्रशंसा गर्न ओलीले समय खर्चन्थें। तर, ओलीका प्रिय पात्र बाँस्कोटा चौतर्फी दबाबका कारण शक्तिशाली मन्त्रीबाट हट्न पुगेका छन्।
यसलाई धेरैले ओलीको आधा सत्ता ढलेको भनेर टिप्पणी गरिरहेका छन्। ओलीलाई कमजोर बनाउन बाँस्कोटाको अडियो टेप बाहिर आएको पूर्वएमाले (खासगरी ओली निकट)का नेताहरुको बुझाइ छ। बालुवाटारमा ओलीसँग भेटेर बालकोट (ओलीको घर) मा पुगेर सात वटा अडियो जोडिएको भनेर उनलै कार्यकर्ता माझ बोल्नुले समेत त्यो कुराको संकेत गर्छ।
असोजमा महराको काण्ड बाहिर आउँदा जसरी छलफलका लागि बोलाएर ओलीले राजीनामा गराउन प्रचण्डलाई दबाब दिएका थिए, ठीक त्यसैगरी बाँस्कोटा प्रकरणमा प्रचण्डले ओलीलाई राजीनामा गराउन दबाब दिएका थिए। त्यसैले पाँच महिनाको अन्तरालमा घटेका महरा–बाँस्कोटा प्रकरणको सार मुख्यतः व्यक्तिगत चरित्र र नेकपाभित्रको आन्तरिक शक्ति संघर्ष नै हो।
Leave a Reply