प्रधामन्त्री ओली विरुद्ध पार्टी भित्रैबाट अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी

 पब्लिक संवाददाता      शुक्रबार, कार्तिक १४, २०७७      0

काठमाडौं । राष्ट्रिय हित विपरीत काम गरेको आरोप लागेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी थालिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीविरुद्ध पार्टीभित्रैबाट अविश्वासको प्रस्ताव दर्ता तयारी गरिएको हो । प्रधानमन्त्री ओलीले पार्टीको नीति अनुसार सरकार चलाउन नसकेको, विदेशी जासुसी निकायका प्रमुखलाई गोप्यरुपमा भेटेको , कोरोनाविरुद्धको लडाईमा खरो उत्रन नसकेको लगायतका आरोप लगाइएको छ । यिनै आरोपमा आधारित रहेको नेकपाभित्र ओलीविरुद्ध हस्ताक्षर अभियान सुरु भइसकेको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले अविश्वासको प्रस्ताव दर्ताका लागि सांसदहरुको हस्ताक्षर संकलन सुरु गरिसकेको नेकपा स्रोतको दावी छ । नेकपा संसदीय दलमा दर्ता गर्नेगरी ओलीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता हुनेछ । सो प्रस्ताव असफल भएमा कांग्रेस र जनता समाजवादी पार्टीसमेतको समर्थनमा संसदमै ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न गोप्य रुपमा तयारी भइरहेको छ । ओली सरकार हटाउन कांग्रेस र जसपाले समर्थनको संकेत दिइसकेका छन् । यहीकारण दाहाल र नेपालको अगुवाईमा नेकपाभित्र ओली हटाउने अभियान पुनः ब्यूतिएको हो ।

संविधानको धारा १०० मा प्रधानमन्त्री विरुद्ध संसदमा तत्काल कायम रहेको सदस्य संख्याको एक चौथाई सदस्यहरुले अविश्वासको प्रस्ताव दर्ता गराउन सक्ने प्रावधान रहेको छ । पार्टीभित्रको किचलो मिलाउन र सत्ता टिकाउन पटक पटक सम्झौता गरेपनि प्रधानमन्त्री ओली सम्झौतापालनमा इमान्दार नभएपछि उनीविरुद्ध निर्णायक पहल थालिएको नेकपा स्रोतको दावी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *