केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे, बद्री पाण्डे र जीवन परियार सम्मेलित समितिले पार्टीभित्रका गलत निर्णय र त्यसविरुद्धको प्रतिवादका कार्यक्रमसमेत सुझाएर तयार पारेको प्रतिवेदन शनिबार आफ्नो समूहका सबै नेतालाई वितरण गरिसकिएको छ । प्रतिवेदनमा सभापति देउवालाई विधि, विधान र पद्धतिमा बाँध्नका लागि आमरण अनसनसम्मका सम्भावित विरोधका कार्यक्रम सुझाइएको छ । यस्तै प्रतिवेदनले धर्ना, अनसन र सभापति देउवाद्वारा मनोनित केन्द्रीय सदस्यको राजीनामासम्मको कार्यक्रम अगाडि सारेको छ ।
समितिका सदस्य गुरुराज घिमिरेका अनुसार आमरण अनसन गर्नुअघि ६ चरणका कार्यक्रम गर्ने सुझाव दिइएको छ । उक्त सुझावलाई अन्तिम रूप दिन यही हप्तामा फेरि पौडेल पक्षले भर्चुअल बैठक गर्ने उनको भनाइ छ । घिमिरेका अनुसार आगामी बैठकले सुरुमा सभापतिलाई गलत निर्णय सच्याउन तीन दिनको अल्टिमेटम दिने छ ।उक्त अवधिमा विधान विपरीतका निर्णय नसच्याए केन्द्रीय पदाधिकारी, सदस्य, सांसद, जिल्ला सभापति र भ्रातृ तथा शुभेच्छुक संस्थासँग अन्तक्र्रिया गर्ने र पत्रकार सम्मेलन गर्ने पौडेल समूहको कार्यक्रम छ ।त्यसपछि जिल्ला तथा केन्द्रीय कार्यालयमा धर्ना दिने, रिले अनसन बस्ने र अन्तिममा आमरण अनसन बस्ने पौडेल पक्षको योजना छ । यस्तै देउवाविरुद्ध उक्त कदम चाल्नुभन्दा पहिले मनोनित केन्द्रीय सदस्यलाई राजीनामा दिन लगाउने पनि पौडेल पक्षको तयारी छ ।
देउवाद्वारा मनोनित वरिष्ठ नेता पौडेलसहित अर्जुनरसिंह केसी र दिलबहादुर घर्तीलाई केन्द्रीय सदस्यबाट राजीनामा दिन प्रतिवेदनमा सुझाइएको छ । यस्तै नेपाल विद्यार्थी सङ्घ नेविसङ्घमा पठाएका पदाधिकारी पनि फिर्ता बोलाउने पौडेल पक्षको रणनीति छ ।नेविसङ्घका १० जना पदाधिकारीमा पौडेल पक्षबाट महामन्त्रीहरु दीपक भट्टराई, उर्मिला थपलिया र प्रभात दाहालको सहभागिता छ । त्यहीअनुसार पौडेल पक्षद्ववारा गठित समितिले प्रतिवेदन तयार पारिसकेको छ ।भदौको सुरुवातमा महामन्त्री शशांक कोइरालाको निवासमा बसेको पौडेल पक्षको बैठकमा केन्द्रीय सदस्यद्वय धानराज गुरुङ र गुरुराज घिमिरेले आफू पक्षीय मनोनित केन्द्रीय सदस्यलाई सामूहिक राजीनामा दिन सुझाएका थिए ।
त्यसमा वरिष्ठ नेता पौडेल र नेता केसीले आफू राजीनामा दिन तयार रहेको बताएका थिए । ‘शेरबहादुर देउवाले मनोनित गरेका पदमा बस्ने अनि उनकै विरोध गर्न नैतिकताले मिल्छ रु त्यो नैतिकता सुहाउने कुरा पनि होइन । सबैभन्दा पहिला तपाईंहरु राजीनामा दिनुहोस्,’ उनीहरुले बैठकमा भनेका थिए । त्यसपछि पौडेल र केसीले केन्द्रीय सदस्यबाट राजीनामा दिएर सङ्घर्षमा उत्रिन आफूहरु सकारात्मक रहेको जबाफ दिएका थिए ।घिमिरेका अनुसार सुशील कोइरालाको सभापतित्व कालमा देउवाले पनि यस्तै नीति अख्तियार गरेका थिए । त्यतिबेला उनले आफैले केन्द्रीय सदस्यबाट राजीनामा दिने, केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गर्ने, केन्द्रीय विभागबाट आफूनिकट रहेकाहरूलाई राजीनामा दिन लगाउने, अनसन बसाउने जस्ता काम गरेका थिए ।
Leave a Reply