
भारतमा पुर्याएर एक युवतीको बलि दिन लागेको घटनामा युवती र प्रहरीको चलाखीले गम्भीर अपराध टरेको छ ।बिहीबार महानगरीय प्रहरी परिसर टेकुमा पत्रकार सम्मेलन गर्दै प्रहरीले गम्भीर अपराध हुनबाट जोगिएको बताएको हो ।बिहारको मन्दिरमा रहेका एक बाबाले एक ६ फिट उचाइकी युवतीलाई बिहारमै बलि दिनका लागि नेपाली व्यक्तिहरुलाई परिचालन गरेको र युवती ल्याउने व्यक्तिहरुलाई मोटो रकम दिने आश्वासन दिई केही रकमसमेत दिइसकेको प्रहरीले बताएको छ ।
युवतीलाई मोडलिङ गर्नका लागि छानिएको र नेपाल भारत सीमामा डकुमेन्ट्रीको छायांकन गर्ने भन्दै त्यसबापत मोटो रकम दिने प्रलोभन दिइएको पाइएको थियो । उनीहरुको प्रस्तावमा स्वीकार गरेकी युवतीले पछि शंका लागि महानगरीय प्रहरी परिसर टेकुमा मौखिक उजुरी दिएपछि प्रहरीले गिरोहमाथि निगरानी बढाएको थियो । त्यसलगत्तै युवतीलाई विराटनगर सीमाबाट जोगबनी हुँदै बिहारको मन्दिरतर्फ लैजान लागिएको अवस्थामा गिरोहका ७ जना सदस्यलाई पुस ७ गते राति साढे ९ बजे विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो ।
घटनामा संलग्न भएकाहरुले युवतीलाई भारत पुर्याएवापत आफूहरुलाई राम्रो रकम दिने प्रलोभन दिइएको भएपनि के र किन युवती चाहिएको हो थाहा नभएको बताएका छन् ।
बिहारका बाबाले मगाएका थिए युवती
प्रहरी स्रोतका अनुसार भारत बिहारस्थित एक मन्दिरका बाबाले ६ फिट अग्लो उचाई भएकी युवती मगाएका थिए । उनले युवती मासु र रक्सी खाने हुन नहुने, महिनावरी नभएको समय हुनुपर्ने र शरीरमा कुनै खत भएको वा घाउचोट नभएको हुनुपर्ने बताएका थिए ।
युवती ल्याएवापत मोटो रकम दिने भनेपछि विराटनगर ८ मोरङका ५१ वर्षीय दिलिप पोद्दारले यो सबै प्रपञ्च रचेका थिए । यो घटनाको मास्टरमाइन्ड र डिजाइनर सबै पोद्दार रहेको प्रहरीको दावी छ ।
पोद्दार र भारत बिहारस्थित एक मन्दिरका बाबाबीच टेलिफोनमा पटकपटक संवाद भएको पाइएको प्रहरीले बताएको छ । त्यसकारण यसका प्रमुख पात्र भने भारत बिहारका एक बाबा रहेको प्रहरीको दाबी छ ।
प्रहरीले बाबाको पहिचान भने खुलाएको छैन ।
डकुमेन्ट्री निर्माणको विषय सबै बनावटी योजना भएको र युवतीलाई भारत पुर्याउन रचिएको नाटकमात्रै भएकोसमेत प्रहरीको दाबी छ ।
पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको छ ।
Leave a Reply