दोलखा २७ बैशाख
सहकारी अभियानको पुनर्जागरण गर्ने र सहकारीको माध्यमबाट उद्दमशिलताको विकास गरि समृद्ध दोलखा निर्माण गर्ने उद्देश्यले आयोजना भएको २ दिने बृहत् सहकारी सम्मेलन दोलखामा सुरु भएको छ ।
शुक्रबार देखि सुरु भएको बृहत सहकारी सम्मेलनको संघिय सरकारका भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले एक भब्य समारोहका बिच उद्घाटन गरेकी छन् । सम्मेलनमा दोलखा जिल्लाभरका झण्डै ५ सय सहकारीकर्मी सहभागी छन् । कार्यक्रममा सहकारी क्षेत्रसँग सम्बन्धित ७ वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको सम्मेलन मुल आयोजक समितिका संयोजक हेमन्त चौलागाईंले जानकारी दिए ।
२ दिन सम्म चल्ने सम्मेलनमा सहकारीको माध्यमबाट कसरी रोजगारीको अबसर सृजना गर्ने र त्यसलाई कसरी संस्थागत गर्ने भन्ने विषयमा गम्भीर छलफल हुने बताईएको छ । दोलखामा ५ सय ३ वटा सहकारी संस्था रहेको जसमा ८ अर्ब ५० करोड पुँजी रहेको जिल्ला सहकारी संघ दोलखाका कोशाध्यक्ष कृष्ण प्रसाद दाहालले जानकारी दिए । उनका अनुसार जिल्लाभरका १ लाख ९० हजार मानिसहरु सहकारी अभियानमा प्रत्येक्ष रुपमा जोडिएका छन् । सहकारी सम्मेलनमा मन्त्री अर्यालसँगै प्रतिनिधि सभाका सांसद , प्रदेश सभाका सांसद , स्थानीय तहका प्रमुख , उपप्रमुख सँगै सहकारी क्षेत्रका जानकारहरु सहभागी छन् ।
Leave a Reply