आर्थिक रुपान्तरणका लागि उद्यमशीलता,सहकारी अभियानको कार्यर्दिशा

 पब्लिक संवाददाता      बिहिबार, बैशाख २६, २०७६      0

दोलखा सदरमुकाम चरिकोटमा यहि बैशाख २७ र २८ गते वृहत सहकारी सम्मेलन २०७६ हुदैछ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि सहकारी क्षेत्रका माध्यमबाट उद्यमशीलता मार्फत आर्थिक रुपान्तरणमा योगदान गर्ने लक्ष्य सहित सहकारी अभियानको आगामी कार्य्दिशा, आर्थिक रुपान्तरणका लागि उद्यमशीलता भन्ने नाराका साथ बृहत सहकारी सम्मेलन २०७६ आयोजना गर्न लागिएको हो ।
जिल्ला सहकारी संघ दोलखा र दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.दोलखाको संयुक्त आयोजनामा हुने सम्मेलनको भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले उद्घाटन गर्ने कार्यक्रम छ, यसै सन्दर्भमा संवाददाता दिपशंकर चौलागाईले सहकारी सम्मेलनको बारेमा दोलखा बृहत सहकारी सम्मेलन २०७६ मुल समारोह समितिका संयोजक एंव जिल्ला सहकारी संघ लि. दोलखाका अध्यक्ष हेमन्त चौलागाँईसंग गरेको संक्षिप्त कुराकानी ।
दोलखा बृहत सहकारी सम्मेलन २०७६ भनेर गर्न लाग्नु भाको छ यो के को लागि हो ?
धन्यवाद छ । निकै महत्वपुर्ण प्रश्न गर्नु भयो, वास्तममा सन १८४४ मा बेलायतबाट सुरु भएको सहकारी आन्दोलन आज नेपालमा छ दशक पार गरिसकेको छ । यति बेला सहकारी ऐन २०७४ जारी भई सहकारी नियमावलि २०७५ पनि आईसकेको अवस्थामा अब सहकारीलाई कुन मोडलमा लाने भन्ने विषयमा सबै तिर बहस सुरु भएको छ । हिजो डिभिजन सहकारी कार्यालयहरु हुँदा सहकारी दर्ता, अनुगमन, नियमन लगायतका सबै काम तिनैले गर्ने गरेका थिए ।
अब देश संघिय संरचनामा गईसकेकोले सहकारी संघ संस्थाको सबै काम स्थानीय तह, प्रदेशले गर्ने भएकोले पनि अहिले कतिपय स्थानिय तहका जनप्रतिनिधिहरुलाई सहकारीका बारेमा धेरै कुरा भन्नु पर्ने भएको छ भने कर्मचारीहरुमा पनि सहकारीको बारेमा प्रयाप्त ज्ञान नभएको कारणले अबको सहकारीहरुको व्यवस्थापन जिम्मेवारी स्थानीय सरकारमा आइसकेको र समृद्ध नेपाल निमार्णका लागि स्थानीय तहमा सहकारी मार्फत आर्थिक सशक्तिकरणको सम्भावना र जिम्मेवारी दुवै रहेको सन्दर्भमा दोलखाका ९ वटै स्थानीय तहका ७४ वटै वडाहरुमा उद्यमशीलता मार्फत आर्थिक रुपान्तरण अभियान अघि बढाउन स्थानीय सरकारको बाँकी रहेको तीन वर्षको कार्यकाललाई समेत दृष्टिगत गरी योजना निर्माण गर्ने लक्ष्य राखिएको हुनाले पनि यो सम्मेलन गर्न लागिएको हो ।
सम्मेलनको तयारी कसरी गरि रहनु भएको छ ?
सम्मेलनलाई भव्य बनाउनको लागि मेरो संयोजकत्व र दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघ दोलखाका अध्यक्ष जिवसराज खड्काको सह संयोजकत्वमा दोलखामा बृहत सहकारी सम्मेलन मूल आयोजक समितिको गठन गरिएको छ । सम्मेलनलाई सफल बनाउनको लागि एक सचिवालय र अन्य उपसमतिहरु जस्तै आर्थिक व्यवस्थापन समिति, प्रतिवेदन, कार्यपत्र तथा सेशन व्यवस्थापन समिति, कार्यक्रम तथा सहभागी व्यस्थापन समिति, सञ्चार तथा प्रकाशन समिति, सम्मेलन प्रतिवेदक, ¥याली व्यवस्थापन, सहजकर्ता तथा कर्मचारी गरी ५३ सदस्यीय आयोजक समिति गठन गरि सकिएको छ र समिति उपसमितिहरुले सम्मेलनलाई सफल बनाउनको लागि काम गरिरहनु भएको छ ।

सम्मेलनमा को को सहभागी हुनुन्छ र सम्मेलनको मुख्य आकर्षण के हो ?
यो सम्मेलनमा मुख्यतया दोलखामा रहेका विभिन्न प्रकृतिका सहकारी संस्था तथा संघहरु, स्थानीय सरकार प्रमुखहरु, प्रदेश तथा संघीय सरकार, सांसदहरु, वित्तीय संस्था, राजनीतिक दल, सहकारी उद्यमशीलता सम्बन्धी गैरसरकारी तथा निजी संस्थाहरु, मिडिया, कार्यपत्र प्रस्तोता, सहजकर्ता, कलाकारहरु र अन्य सम्बन्धित गरि ४ सय जना भन्दा वढि सहभागिता हुने अपेक्षा गरिएकोे छ ।
त्यसैगरी मुख्य आकर्षण भनेको सम्मेलनको पहिलो दिन अर्थात बैशाख २७ गते विभिन्न भेषभुषामा, बाजागाजा, सास्कृतिक झाँकी सहित चरिकोट बजार परिक्रमा गर्ने र सम्मेलनको भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले उद्घाटन गर्ने कार्यक्रम छ । त्यस्तै जिल्लामा सहकारी विकासको अवस्था, स्थानीय तहको भूमिका र प्रतिवद्धता भन्ने कार्यपत्र प्रस्तुत गर्ने र सम्मेलनको दोस्रो दिन अर्थात बैशाख २८ गते दिगो विकास लक्ष्यमा प्राप्तिमा सहकारी क्षेत्रको कार्यययोजना, सहकारीमा जनशक्ति व्यवस्थापन, सहकारी ऐन नियम र सहकारी उद्यमशीललता विषयमा सहकारी विभाग, राष्ट्रिय सहकारी महांसघ, राष्ट्रिय सहकारी बैक, नेफ्स्कुन लगाएत राष्ट्रिय स्थरका अनुभवी व्यक्तिहरु बाट छ वटा कार्यपत्रहरु प्रस्तुती समेत गरिनेछ ।
यति ठुलो कार्यक्रम गर्न लाग्नु भाको छ यसको आर्थिक व्यवस्थापन कसरी गरिरहनु भाको छ ?

सम्मेलनलाई सफल र भव्य बनाउनको लागि मुख्यत आर्थिक व्यवस्थापननै महत्वपुर्ण पाटो हो । सम्मेलनमा करिब २२ लाख रुपैया खर्च हुने अनुमान गरेका छौ । त्यसको लागि मुख्य स्रोत भनेको सहकारी संस्थानै हुन, दोलखामा ५ सय भन्दा बढी सहकारी संस्थाहरु रहेका छन र ति मध्ये पनि क्रियासिल अबस्थामा रहेका करिब करिब तिन सय जति संस्थाहरु माध्यमा पनि झण्डै २ सय जति संस्थाहरुलाई आर्थिक कारोबारको हिसाबले संस्था बर्गिकरण गरी उहाँहरुलाई सहयोग गर्न भनेका छौ र कतिपय संस्थाहरुले सहयोग रकम जम्मा गरिसक्नु भाको पनि छ भने बाँकी संस्थाहरुबाट पनि सहयोग रकम आउने क्रम जारी छ । यो सम्मेलन मूलत दोलखा जिल्लाको सहकारी अभियानको प्रवद्र्धदन र विकासको निम्ती गरिएको हुनाले सम्मेलनको लागि लाग्ने खर्च पनि सहकारी अभियानबाटै संकलन गर्ने योजना बनाइएको छ, संगै नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरीवि निवारण मन्त्रालय, राष्ट्रिय सहकारी विकास वोर्ड, प्रदेश सरकार, राष्ट्रिय सहकारी महाँसघ, राष्ट्रिय सहकारी बैक र नेफ्स्कुनले पनि सहयोग गर्ने वचन दिएका छन् ।
धन्यवाद छ महत्वपुर्ण समय उपलब्ध गराईदिनु भएकोमा संगै सम्मेलनको सफलताको पनि शुभकामना व्यक्त गर्दछौ ।
यहाँलाई पनि धन्यवाद छ सम्मेलनको बारेमा केहि कुरा राख्ने मौका दिनु भयो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *