तिन हप्तामा छ हजार नागरिकता वितरण

 पब्लिक संवाददाता      बुधबार, भदौ ६, २०७५      0

दोलखा ६ भदौ । स्थानियवासीको लागी माथिल्लो तामाकोशी जिलविद्युत आयोजनाको शेयर आवेदन खुलेसँगै जिल्ला प्रशासन कार्यालय दोलखा बाट बुधबार सम्ममा करिब ६ हजार भन्दा बढी नागरिकता वितरण भएको छ ।
शेयर आवेदन खुले देखि २१ दिनको समयावधिमा उक्त संख्यामा नागरिकता प्रमाणपत्र तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि वितरण भएको हो । जिल्ला प्रशासन कार्यालय दोलखा तथा इलाका प्रशासन कार्यालय सिँगटीबाट उक्त संख्यामा नागरिकता प्रमाणपत्र तथा प्रतिलिपि वितरण गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले लाई बताए ।
तामाकोशीको शेयर आवेदन गर्नका लागि उमेर पुगेका मानिसले नागरिकता प्रमाणपत्र पेश गर्नु पर्ने भएकोले नागरिकता प्रमाण पत्र लिनेहरुको संख्या अत्याधिक बढेको बताउदै प्रमुख जिल्ला अधिकारी पाठकले भने “ हामीले विहान ६ बजे देखि बेलुका ८ बजे सम्म नागरिकता बनाएर दिने गरेका छौ ।” ‘केही दिन देखि दैनिक १३ घण्टा सम्म काम गरिरहेका छौं ।’ प्रजिअले भने ।
यता, जिल्ला प्रशासन कार्यालयको जस्तै अवस्था इलाका प्रसासन कार्यालय सिँगटीको पनि छ । “नागरिकतालिनेको लाइन विहानैं देखि बस्छ ,हामी अतिरिक्त समयमा पनि काम गरेर सेवा दिइ रहेका छौं ।” इलाका प्रसासन कार्यालयका कर्मचारी रामकृष्ण ढूंगेलले भने ।
तामाकोशीको शेयर भर्नकै लागी आफू विहान ६ बजे देखि लाइन बसेको बताउदै भीमेश्वर नगरपालिका ४ की श्रीमाया बस्नेतले भनिन् “आप्mनो र भर्खरै १६ वर्ष पुगेको छोराको पनि नागरिकता बनाउनु परेकोले धपेडी गरेको हुँ । ”
जिल्ला प्रसासन कार्यालयमा नागरिकता लिनकै लागि यति ठूलो भिड पहिले कहिल्यै देखिएको थिएन लाइनमा बसेको बैत्यश्वर गाउँपालिका ७ का ७४ बर्षिय रामप्रसाद रिमालले भने । आफु नागरिकताको प्रतिलिपि लिन आएको रिमालले बताए ।
सेवा ग्राहीको भिड बढेसंगै जिल्ला प्रशासन कार्यालय दोलखाका कर्मचारिले अतिरिक्त समयमा काम गरिरहेको तथा तिनवटा प्रिन्टरमा लगातार नागरिकता प्रिन्ट गरि वितरण गरिने गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।