राजन बस्नेत
दोलखा २५ साउन । संघियता लागुभएपछि पनि जिल्लाका ग्रामिण तहमा जघन्य मानवअधिकार हननका घटनाको संख्यामा वृद्धि भएको भन्दै न्यूनिकरणको लागी नेपाल मानव अधिकार संगठन हुरोनले सुरक्षा निकाय र विद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ ।
समाजमा बढ्दै गएको मानवअधिकार उल्लङघनका घटनालाई लक्षित गर्दै दोलखामा नेपाली सेना, नेपाल प्रहरी र विद्यार्थाीहरुलाई मानवअधिकार शिक्षा सम्बन्धि प्रशिक्षण दिइएको हो ।
चरिकोटस्थित होटल कृति को सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रमका सहभागिहरुले समाजमा मानवअधिकारको विद्यमान अवस्था चिन्ताजनक रहेको बताएका छन् ।
नेपाल मानव अधिकार संगठन हुरोनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा जिल्ला अदालत दोलखाका न्यायधीश कमलराज विष्टले पछिल्लो समय मानव अधिकार हननका घटनाको संख्यामा वृद्धि भएको बताए ।
उनले मानवअधिकार सम्बन्धि बनेका ऐन नियमहरु यथाशिघ्र कार्यन्वयन गर्न सरोकारवाला निकायहरुलाई अनुरोध समेत गरे । संगठनका दोलखा अध्यक्ष दीपशंकर चौलागाइको अध्यक्षतामा भएको प्रशिक्षणमा मानवअधिकारको क्षेत्रमा महत्वपुर्ण योगदान पु(याएको भन्दै दोलखाका पत्रकार रमेश खतिवडा र अधिकारकर्मी कृष्ण बस्नेतलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले मानवअधिकारसँग सम्बन्धित घरेलु हिंसा घर घरबाट अन्त्य गर्ने हो भने अधिकार उल्लङघनका घटनामा कमी आउने बताएका छन् ।
उद्घाटन कार्यक्रममा जिल्ला न्यायधिश कमलराज विष्ट प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक नेपाल मानवअधिकार संगठनका केन्द्रिय उपाध्यक्ष शम्भु लामा केन्द्रीय सदस्य प्रा.डा. गोविन्द ढकाल वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी दोलखाका प्रहरी प्रमुख डिएसपी बासुदेव पाठक रणभिम गण दोलखाका निमित्त गणपति रोशन मगर लगाएत जिल्ला स्थित मानवअधिकारकर्मीहरुले जिल्लाको विद्यमान मानवअधिकारका सवालमा आ आफ्नो मन्तव्य राखे ।
प्रशिक्षणमा नेपाली सेना, नेपाल प्रहरी सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थी समेत गरि करिब एक सय ४४ जना सहभागी रहेको नेपाल मानवअधिकार संगठन हुरोनका केन्द्रीय सदस्य समेत रहेका जिल्ला अध्यक्ष चौलागाइले जानकारी दिए । सहभागीहरुलाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र हुरोनका केन्द्रीय सदस्य प्रा.डा. ढकालले प्रशिक्षण दिएका थिए ।