पैसा र पहुँच नहुनेले सेयरमा हेरेरै बस्ने प्रवृत्तिको तामाकोसी आयोजनाले अन्त्य गरेकोछ ः मन्त्रि पुन

 पब्लिक संवाददाता      बुधबार, साउन १६, २०७५      0

दोलखा ,१६ साउन । नेपाल सरकारका उर्जा जलस्रोत तथा सिचाइँ मन्त्री बर्षमान पुनले पैसा र पहुँच हुनेले स्रोतसाधनमा लगानी गरेर नाफा बटुल्दै लैजाने र नहुनेले हेरेरै बस्ने प्रवृत्तिको अन्त्य तामाकोसी आयोजनाले गरेको बताउनु भएको छ ।
जिल्लावासीलाई छुट्याइएको १० प्रतिशत शेयर वितरणको शुभारम्भ समारोहमा बोल्दै मन्त्रि पुनले देशकै उदाहरणीय तामाकोसी आयोजनाले अन्य जलविद्युत आयोजना निर्माणका लागि हौसला प्रदान गरेको दाबि गर्नुभएकोछ ।
दोलखा सदरमुकाम चरिकोटमा बुधबार आयोजित समारोहमा लाई सम्बोधन गर्दै मन्त्रि पुनले सामाजिक न्यायले स्थानीय स्रोत साधन व्यवस्थापनमा जनसहभागीता गराउने भएकोले हरेक आयोजनामा सुरक्षा र सतर्कता बढ्दै जाने धारणा राखेकाछन । विकासमा सामाजिक न्यायको अवधारणा अपरिहार्य रहेको उहाँको भनाई थियो ।
आर्थिक बिकासमा अन्य दुनियाँ भन्दा पछि परेको नेपालको समृद्धिका लागि विकास र सुशासन आवश्य रहेकोले जलस्रोतलाई अघि सारेर बढ्ने पर्ने धारण मन्त्रि पुनले व्यक्त गर्नुभयो । एक लाख मेगावाट भन्दा बढि बिद्युत उत्पादन हुन सक्ने नेपालमा तत्काललाई जनताकै लगानीमा ३ हजार मेघावाटका आयोजनाहरु सञ्चालन गर्ने योजना रहेको समेत उहाँले प्रष्ट पार्नुभयो ।
सरकारले १६ वटा जलविद्युत आयोजनालाई प्राथमिकतामा राखेको र लगभग ६ खर्व लगानीको अनुमान गरेको समेत उहाँले बताउनुभयो । उहाँले तामाकोसी आयोजनलाई यही आर्थिक वर्ष भित्रै सकाउन लागि पर्ने समेत प्रतिबद्धता जाहेर गर्नुभयो ।
बिधुत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसीङले सेयर कारोबार गर्ने ब्यक्तीहरुलाई स्थानिय जनताको नागरिकता किन्ने गिरोहबाट जोगाउन अनुरोध गर्नुभएकोछ । स्थानिय जनताको नागरिकता खरिद गरि सेयर हत्याउने गिरोहहरु पनि सेयर खुल्दा सक्रिय हुने भएकाले सर्तक रहन आग्रह गर्नुभयो ।
उहाँले दोलखाबासी सबैले सेयर खरिद नगर्ने भएकाले ६० देखि ७० प्रतिशत सेयर मात्रै बिक्रि हुने आशय ब्यक्त गर्नुभयोे । उनले ५० कित्ता सेयर पर्ने गरि सेयर खरिद गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य पार्वत गुरुङ, प्रदेश सभा सदस्य पशुपति चौलागाईं र विशाल खड्का, जिसस प्रमुख डबल पाण्डे लगाएतले तामाकोसी आयोजना र शेयरको बारेमा आफ्ना धारणा राख्नुभएको थियो ।
माथिल्लो तामाकोसी आयोजनाको लागि जिल्लावासीले पाउने एक करोड पाँच लाख ९० हजार कित्ता सेयरको लागि बुधवारबाट आवेदन खुल्ला गरेको छ । उक्त सेयरको लागि भदौ १४ गतेसम्म दोलखा जिल्लामा बिभिन्न बैङ्कहरुको १९ वटा सङ्कलन केन्द्र र काठमाण्डौँमा बस्ने दोलखालीहरुको लागि सनराईज बैङ्कको ११ वटा सङ्कलन केन्द्र निर्धारण गरेको छ ।
सेयरमा सम्पूर्ण दोलखालीहरुको पहुँच पुगोस् भन्ने उदेश्यका साथ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुलाई सेयर बारे प्रशिक्षण दिएको छ ।जिल्लाका २ नगरपालिकाका मेयर, उपमेयर र ७ गाउँपालिकाका प्रमुख, उपप्रमुख देखि वडाध्यक्षहरुलार्ई सेयर बारे प्रशिक्षणमा सहभागीता रहेको छ ।
कम्पनीका अनुसार लगानीकर्ताले न्युनतम ३० देखि अधिकतम ३ सय कित्ता खरिद गर्न पाउने गरी आवेदन दिन सक्नेछन् । जिल्लाका विभिन्न बैंक तथा वित्तीय संस्थाको २१ स्थानबाट सेयर आवेदन दिने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संख्याका शाखा नभएका स्थानमा घुम्ती संकलन केन्द्र राखिने भएको छ ।
स्थानीयलाई आउजाउ गर्न कठिनाई हुने दुुर्गम स्थानमा स्वयंसेवक परिचालन गरी आवेदन संकलन गरिने कम्पनीले जनाएको छ । जिल्लाबासीलाई सेयर आवेदन भर्न डिम्याट खाता अनिवार्य गरिएको छैन ।
३ वर्षको लकिङ अवधि पूरा भएपछि भने लगानीकर्ताले अनिवार्यरुपमा डिम्याट खाता खोल्नु पर्नेछ । वैदेशिक रोगजारीमा गएका दोलखालीको हकमा वेबसाइटबाट फारम डाउनलोड गरेर हस्ताक्षर गरेर पठाएमा उनीहरुका परिवारका सदस्यले आवेदन बुुझाउन मिल्ने व्यवस्था गरिएको छ । काठमाडौंमा बसोबास गर्दै आएका दोलखाली जनताले पनि सेयर खरिद गर्न आवेदन दिन पाउने भएका छन् । राजधानीबासीका लागि सनराइज बैंकका शाखाहरुबाट आवेदन दिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
सेयर खरिद गर्न आवेदन दिन पाउने दोलखाबासीलाई आयोजनाबाट अतिप्रभावित, कमप्रभावित र प्रभावितको सूचीमा वर्गिकरण गरिएको छ । आयोजना अति प्रभावित (साविक लामाबगर र गौरीशंकर गाविस) स्थानीयले हरियो रंगको आवेदन फारम फारम भर्नुपर्नेछ । सडक र प्रसारण लाइनले छोएको क्षेत्रका प्रभावित स्थानीयले निलो रंगको आवेदन फारम भर्नुपर्नेछ । कम प्रभावित (दोलखाबासी) का लागि कालो रंगको आवेदन फारम तयार गरिएको कम्पनीले जनाएको छ । सेयर निष्कासन तथा बाँडफाँड गर्न नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।