दोलखा ११ साउन । माथिल्लो तामाकोशी जलबिद्युत आयोजनामा विदेश मा बस्दै आएका दोलखावासीहरुले अनलाईनबाट शेयर आवेदन भर्न पाउने भएका छन ।
बिक्रि प्रवन्धक, नागरिक लगानी कोष र सहायक प्रवन्धक सनराईज क्यापिटल तथा माथिल्लो तामाकोसी आयोजनाको वेभ साईड मार्फत शेयर आवेदन फाराम डाउन लोड गरी भर्न सक्ने व्यवस्था मिलाइने आयोजनाले जनाएको छ ।
विदेशमा रहेका दोलखालीले अनलाईन फाराम भरी पठाउने र परिवारका सदस्यले सो फाराम सँकलन केन्द्रमा बुझाई रकम जम्मा गरेपछि लगानी सुनिश्चित हुनेछ । विक्रि प्रवन्धक कम्पनीले शेयर निस्कासन सुरु हुनु अगावै फाराम वेभसाईडमा राख्ने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए ।
बैदेशिक रोजगारीमा रहेकाहरुको पनि बैंक खाता नभएमा परिवारको सदस्यकै खाता मार्फत शेयर आवेदन दिन पाउने छन् ।
काठमाण्डौमा बसोवास गर्नेले सोही ठाउबाटै र जिल्लाका नागरिकले स्थानीय तहवाटै शेयर आवेदन भर्न पाउने भएका छन् ।
दोलखाका जनप्रतिनिधि, राजनीतिक दल, नेपाल बिद्युत प्राधिकरण, धितो पत्र बोर्ड, नागरिक लगानी कोष र माथिल्लो तामाकोशी आयोजनाका पदाधिकारीबीच आज काठमाण्डौमा भएको छलफलमा यस्तो निर्णय भएको हो ।
छलफलमा काठमाण्डौ, भक्तपुर र ललितपुरमा बस्दै आएका दोलखावासीलाई निश्चित अवधि भित्र उपत्यकाकै निश्चित बैंकहरुवाट शेयर आवेदन संकलन गर्न नेपाल धितो पत्र बोर्ड सहमत भएको छ । यो सहमति अनुसार काठमाण्डौं उपत्यकामा बसोबास गर्ने ठूलो सँख्याका दोलखाली नागरिक शेयर आवेदनका लागि दोलखा धाउनु नपर्ने भएको उनले बताए ।
बर्षा याम, सडकको दुरावस्थाका कारण काठमाण्डौंदेखि दोलखा सम्मको सडक यात्रा कष्टकर हुने लगायतका कारण उपत्यकामा बस्ने दोलखावासीको शेयर उपत्यकावाटै संकलन गर्ने सहमति भएको हो ।
जिल्लामा रहेका दोलखावासीको हकमा भने बिभिन्न २१ स्थानवाट शेयर सँकलन गरिने भएको छ । माथिल्लो तामकोसी आयोजनका प्रमुख बिज्ञानप्रसाद श्रेष्ठले बैंकको शाखा बिस्तार भएका स्थानहरुमा सोही मार्फत २१ वटा वडाहरुवाट शेयर आवेदन संकलन गरिने र बैंकको पहुँच नभएका दुर्गम वडाहरुमा घुम्ति सँकलन केन्द्रको व्यवस्था गरिने जानकारी दिए । उहाँका अनुसार दुर्गम र बिकट गाउँमा आवेदन शेयर आवेदन सँकलन गर्न स्थानीय सरकार र प्रशासनसँग समन्वय गरी स्वयंसेवकहरु परिचालन गरिने छ ।
आयोजना प्रमुख श्रेष्ठले जिल्लाका ७४ वटै वडाका नागरिकलाई पायक पर्ने र बहुसँख्यक नागरिकको शेयर सुनिश्चित हुने गरी सँकलन केन्द्र स्थापना गरिने बताए । शेयरका बारेमा जानकारी दिन बिक्रि प्रवन्धक, नागरिक लगानी कोष र सहायक प्रवन्धक सनराईज क्यापिटल तथा माथिल्लो तामाकोसी आयोजनाले साउन १६ गतेवाट शेयर प्रशिक्षण तथा सूचना मुलक कार्यक्रमहरु संचालन गर्ने निर्णय पनि भएको छ ।
माथिल्लो तामाकोशी आयोजनामा शेयर आवेदन दिनका लागि सवै नागरिकको डिम्याट खाता नचाहिने भएको छ । आवेदनका लागि डिम्याट खाता अनिवार्य नगरिए पनि शेयर लगानीको ३ बर्षपछि भने सवै शेयर होल्डरको अनिवार्य डिम्याट खाता हुनु पर्ने धितोपत्र बोर्डले सुझाव दिएको छ ।
परिवारको कुनै एक सदस्यको बैंक खाता भए सोही खाता मार्फत परिवारका सवै सदस्यहरुले शेयर आवेदन गर्न सक्ने आयोजना प्रमुख श्रेष्ठले बताए ।
राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी आयोजनाको प्रवद्र्धक कम्पनी तामाकोशी हाईड्रो पावरले दोलखावासीका लागि १ अर्व ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता शेयर निश्कासन गर्दैछ । शेयर निश्कासनका लागि धितोपत्र बोर्डवाट स्विकृत लिई नागरिक लगानी कोषलाई विक्रि प्रवन्धक र सनराईज क्यापिटललाई सहायक प्रवन्धक तोकिएको छ ।
दोलखावासीका लागि यहि साउन १६ देखि भदौ १४ गते सम्मका लागि शेयर आवेदन अवधि तोकिएको छ । तर, सो अवधिमा पर्याप्त शेयर आवेदन नपरे धितो पत्र बोर्डको स्विकृति लिएर केहि अवधिका लागि थप गर्न सकिने छ ।
माथिल्लो तामाकोशी आयोजनामा शेयर लगानीका लागि दोलखावासीलाई तिन बर्गमा बिभाजन गरिएको छ । आयोजना अति प्रभावित लामावगर र गौरीसँकरलाई ‘क’ बर्ग, प्रसारण लाईन र प्रवेश मार्गले छोएका वडाहरुलाई ‘ख’ र बाँकीलाई ‘ग’ बर्गमा राखिएको छ । ‘क’ बर्गकाले अधिकतम ३ सय कित्ता र ‘ग’ बर्गकाले न्यूनत ३० कित्ता शेयर खरिद गर्न पाउने छन् ।