असार ३०, चरिकोट । सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा सदरमुकाम चरिकोटमा विरोध प्रदर्शन गरिएको छ ।

 

सदरमुकाम चरिकोटमा रहेका आम नागरिकहरुले स्वतस्फूर्त रुपमा शनिवार साँझ सातदोवाटो चोकमा मैनबत्ती बाली प्रदर्शन गरेका हुन् । स्वतफूर्त रुपमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले केसीको जायज मागको समर्थन र मेडिकल माफियाको विरोधमा नारा लगाएका थिए । साथै उनीहरुले केसीको जीवन रक्षाको लागि सरकारसँग माग गरेका थिए ।

यो आन्दोलन राजनैतिक प्रकृतिको नभई सामाजिक प्रकृतिको भएकोले यसका आयोजक स्वयं सचेत नागरिकहरु नै भएको प्रदर्शनमा संलग्न अर्जुन दाहालले बताए । यसैगरी प्रदर्शनमा संलग्न नवराज शिवाकोटीले गरिव जनताका पक्षमा वकालत गरिरहेका केसीको पक्षमा ऐक्यबद्धता जनाउन आफू प्रदर्शनमा उत्रिएको बताए ।

नागरिकहरुको पक्षमा अनसन बसेका केसीका जायज माग पूरा गर्न प्रदर्शनमा उत्रनु लोभी–पापी बाहेक सबै सचेत नागरिकको कर्तब्य भएको प्रदर्शनमा उत्रिएकाहरुको भनाई रहेको छ । माथेमा आयोगको प्रतिवेदनअनुसार विधेयक ल्याउन सरकार समक्ष प्रदर्शनकारीहरुले माग गरेका छन् ।