१० दिन भित्र लामोसाँघु-चरिकोट सडक खण्डमा सुधार नआए कडा आन्दोलन हुने

 पब्लिक संवाददाता      सोमवार, असार २५, २०७५      0

दोलखा । राजधानी काठमाडौंबाट अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोक र दोलखा जोड्ने सडक स्तरोन्नतिको काममा १० दिन भित्र सुधार नआए कडा आन्दोलन गर्ने चेतावनी दिईएको छ ।
लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौर देखि चरिकोटसम्मको सडकलाई हिलाम्मे, धुलाम्मे पार्दै दुरावस्थामा पुर्याई जिल्ला बासीलाई सास्तीमा पार्नुका साथै जिल्लाको सम्पूर्ण आर्थिक गतिविधि नै ठप्प बनाएको भन्दै दोलखा उद्योग वाणिज्य संघमा आबद्ध उद्योगी व्यापारीहरुले सो चेतावनी दिएका हुन् ।
सडककै दुरावस्थाका कारण जिल्लमा पर्यटन व्यवसाय ठप्प हुनुका साथै माल सामान ढुवानीमा समेत व्यापक समस्या आएकोले तत्काल सम्बन्धीत निकायको ध्यानाकर्षण गराउन आफूहरुले वाध्य भएर विरोधमा उत्रिनु परेको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले जानकारी दिए।
उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायी तथा उद्योगीहरुले एम्बुलेन्स र साना तथा हलुका गाडीहरु चरिकोट देखि खाडीचौर सडकमा आउजाउ गर्न नसक्दा विरामीलाई समेते समस्या पर्ने देखिएकोले, सडकमा बनेका खाल्डाखुल्डीमा तत्काललाई ग्राभेल हालेरै भएपनि सहज ढङ्गले सडक सञ्चालनमा ल्याउनुपर्ने माग राखेर सोमबार नै प्रमुख जिल्ला अधिकारी सागरमनी पाठकलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
पहिरो जान सक्ने सम्भावित क्षेत्रहरुमा २४ सै घण्टा डोजरको व्यवस्था, चरिकोट देखि खाडिचौरसम्म सडक निर्माण समयमै सम्मन्न हुने समय र मितिको ग्यारेण्टी, लगाएतका माग राखेर विरोधमा उत्रेको वाणिज्य संघले १० दिन सम्म माग अनुसारको काम नभए नेपाल सरकार, सडक बिभाग, सडक विस्तार जिम्मा पाएको निर्माण व्यवसाय कम्पनी र परामर्शदाता कम्पनी विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
खाडीचौरदेखि चरीकोटसम्मको ५५ किमी सडकको तीन मिटर कालोपत्रे सडकलाई ७ मिटर चौडा गर्दै कालोपत्रे गर्नका लागि भारतको एक्जिम बैंकको ऋण सहयोगमा ठेक्का लागाईएको थियो । जस्मा खाडीचौरदेखि मुढेसम्मको २५ किमीको लागि रु ३९ करोडमा मुख्य ठेकेदार भारतको हिमाञ्चल र नेपाली ठेकेदार गौरीपार्वती जेभीसँग ठेक्का सम्झौता भएको थियो भने, दोस्रो खण्ड पर्ने मुढे–चरिकोट ३० किमी सडकका लागि मुख्य ठेकेदार भारतको सकिल हैदर र नेपाली ठेकेदार  र सुनौलो खिम्तीसँग रु ७० करोडमा ठेक्का सम्झौता भएको थियो ।
सडक निर्माणको काम सक्ने लक्ष्य लिएको मिती पुरा भैसकेको छ । तर, सडक निर्माणको ठेक्का लिइएको कम्पनीको ढिलासुस्तीका कारण सडक निर्माणको काम अझै अलपत्र परेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।