
चरिकोट। नेपालमा केही गर्न सकिन्न भन्दै विदेश पलायन हुने युवाहरूलाई चुनौती दिदै तत्कालीन युवा संघ र तत्कालीन वाइसीएल दोलखाका युवाहरुले किसनको खेतमा पुगेर रोपाइँ गरेका छन्।
“समृद्धिका लागि कृषिमा आत्मनिर्भरता” भन्ने मुल नाराका साथ जिल्लाका जुझारु युवाहरूले शनिबार भीमेश्वर नगरपालिका वडा नं – ४ जिलु स्थित समेरे बेसीमा एक मुरी धानको बीउ रोपेर श्रमदान गरेका हुन।
नेपालीको मुख्य खान भनेकै चामल भएको र यस्को उत्पादन बढाउन सबै क्षेत्र, व्यक्ति विशेष मात्रै नभइ युवाहरु समेत लाग्नुपर्ने सन्देश दिन र कृषकको मनोबल बढाउन आफुहरुले यस्तो कार्यक्रमको आयोजना गरिएको युवा संघ जिल्ला अध्यक्ष महाराज गुरुङले जानकारी दिनुभयो।
यता किसन सनक बहादुर श्रेष्ठले पनि युवाहरूको यस्तो कार्यक्रमले आफुहरुलाई हौसला बढाएको बताउनुभयो।
रोपाइँको लागि आकाशे पानीमा मात्रै भर पर्नु परेकाले यस्ले बेलाबेला किसानलाई समस्यामा पारेको बताउदै सरकारले सिंचाइको ब्यवस्था गर्न सके धान खेतीलाई व्यवसायीक बनाउनसक्ने बताउनुभयो।
हिमाली जिल्ला दोलखाको ब्यसीँ क्षेत्र भनेर चिनिने जिलु क्षेत्रमा धानको अलावा, गहुँ, तोरी, आलु, गोलभेडा, सिमी,मकै, कोदो, काक्रो साग, भ्यान्टा,गाजर, लगाएतका अन्न तथा तरकारी उब्जाउन सकिन्छ।
तर सिंचाइ र सडक समस्याले उत्पादन र बजारीकरण समस्या आएको भीमेश्वर नगरपालिका वडा नम्बर – ४ का अर्का किसान हिरा प्रसाद चौलागाईंले दुखेसो गरे।
चालु आर्थिक बर्ष २०७५/०७६ मा भटमासे जिलु सडकलाई नगरपालिकाले ६० लाख विनियोजन गरेको बताउदै वडा अध्यक्ष हरिबंश चौलागाईंले नाला, ग्याविन वाल, अप्ठ्यारो ठाउमा ढलान गर्दै सडक स्तरउन्ती गर्ने योजना रहेको प्रष्ट पार्नुभयो।
त्यसैगरी आगामी दुई बर्ष भित्र मर्याङ खोला सिंचाइलाई सुपलुङा, समेरे, मेहेले, टहले, सिंरुङ्टा मेहेले, पर्दाने, घ्यानसिङे हुँदै कात्तिके सम्म सिंचाई पुर्याउने प्रतिबद्धता जाहेर गर्नुभयो।
झन्डै एक सय युवाहरु उपस्थित कार्यक्रममा तत्कालीन नेकपा एमालेका जिल्ला पार्टीअध्यक्ष ईश्वर चन्द्र पोखरेल र तत्कालीन एकिकृत नेकपा माओवादीका नेता शंकर लामा र तत्कालीन वाइसीएल अध्यक्ष नवराज अर्यालले युवाहरुलाई विदेशी भुमीमा पसिना बगाउनुको सट्टा नेपालकै खेतबारीमा मिहेनत गर्नुपर्ने भन्दै धारण ब्यक्त गरेका छन्।