दोलखा, १८ असार । माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले दोलखावासीका लागि आब्ह्वान गरेको शेयरको समय तालिका परिवर्तन जिल्ला समन्वय समिति र स्थानीय सरकारले माग गरेको छ ।
दोलखा सदरमुकाम चरिकोटमा २ नगरपालिका र ७ गाउँपालिका गरी ९ वटा स्थानीय निकायका प्रमुखहरु बैठकले शेयर निष्काशनको समय तालिका परिवर्तन गर्नुपर्ने निर्णय गरेको हो ।
दोलखावासीका लागि शेयर दरखास्त दिन पाउने अवधि न्युनतम १ महिनाको कायम गरी साउन १६ गतेदेखि भदौ १४ गतेसम्म हुनुपर्ने निर्णय गरेको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताए ।
बैठकले असार २४ गतेदेखि शेयर आब्ह्वान खुल्ला गरेकोमा हाल प्रकाशित सूचनालाई संशोधन गर्न नेपाल धितोपत्र बोर्ड र अपर तामाकोशी हाईड्रोपावर कम्पनीलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेको अध्यक्षतामा बसेको बैठकले बिभिन्न पेशा व्यवसाय वा अन्य कार्यका लागि देशको राजधानी काठमाण्डौमा रहेका दोलखावासीहरुले पनि आफु रहेको स्थानबाट सहज रुपमा शेयर दरखास्त दिन पाउने व्यवस्था गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरिएको जिल्ला समन्वय अधिकारी तुलसीनाथ गौतमले जानकारी दिए । बैठकले जिल्लाका ७४ वटै वडामार्फत शेयर संकलन गर्ने व्यवस्था मिलाउन र परिवारको एक जनाको बैँक खाता भएमा सो मार्फत नै परिवारका सबै सदस्यले शेयर दरखास्त पेश गर्न पाउने व्यवस्था मिलाउन धितोपत्र बोर्ड र आयोजनालाई अनुरोध गर्ने निर्णय गरेको छ ।
दोलखाका प्रदेशसभा सांसदद्धय पशुपति चौलागाईँ र बिशाल खड्काले पनि प्रदेश सभा बैठकमा तत्कालका लागि शेयर आव्ह्वानको समय उपयुक्त नभएको भन्दै सच्याउन माग गरेका थिए । यस्तै जिल्लाका नागरिक समाजका अगुवाहरुले पनि प्रतिकुल समयमा शेयर निश्काषन भएको भन्दै स्थगित गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका थिए ।