
दीपशंकर चौलागाई
दोलखा १२ असार । अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले स्थानीयबासीका लागि सेयर बिक्री खुला गरेको छ ।
दोलखामा ४ सय ५६ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको पहिलो चरणमा आगामी असार २४ गते देखि स्थानीयका लागि सेयर निष्कासन गरिएको हो ।
उनीहरूले साउन ९ गतेसम्म सेयर खरिद गर्न आवेदन दिन पाउनेछन् । सय रुपैयाँ अंकित २ करोड ६४ लाख ७५ हजार कित्तामध्ये जिल्लाबासीका लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न लागेको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिए । “बाँकी १ करोड ५८ लाख ८५ हजार कित्ता सर्वसाधारणलाई छुट्ट्याइएको छ ।” उनले भने ।
स्थानीयका लागि न्यूनतम ३० कित्ता र बढीमा ३ सय कित्तासम्म खरिद गर्न आवेदन दिन सक्नेछन् । पहिलो चरणको निष्कासन तथा बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन हुने कम्पनीले जानकारी दिएको छ ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । दोलखाबासीलाई ३ चरणमा विभाजन गरेर सेयर बाँडफाँड गरिनेछ । आयोजनाबाट अतिप्रभावित, कमप्रभावित र प्रभावितको सूचीमा नरहेका गरी सेयर बाँडफाँड हुने जनाइएको छ ।
पहिलो र दोस्रो चरणको सेयर निष्कासनबाट २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ संकलन गर्ने हुनेछ । सर्वसाधारणलाई बिक्री गरिने सेयर अर्को सूचना जारी गरी जानकारी गराइने बताइएको छ । सर्वसाधारणले ५० देखि हजार कित्तासम्म किन्नका लागि आवेदन दिन पाउँनेछन् ।