
काठमाडौं । विश्वकप फुटबलको समूह ‘जी’ मा बेल्जियम, इंग्ल्याण्ड, पानामा र ट्युनिसिया रहेका छन् । पहिलो खेलमा आज राति पौने ९ बजे बेल्जियमले पानामाको सामना गर्दै छ ।
बेल्जियम यो समूहको बलियो टोली हो भने पानामा पहिलोपटक विश्वकप खेल्न लागेको टोली हो ।
फिफा वरियतामा तेस्रो स्थानमा रहेको बेल्जियमको यो १३ औँ विश्वकप हो । सन् १९३० बाट विश्वकप खेल्न थालेको बेल्जियम १९८६ मा सेमिफाइनलसम्म पुगेको थियो । बेल्जियमले १९३० पछि १९३४, १९३८, १९५४, १९७०, १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२ र २०१४ मा विश्वकप खेलेको थियो ।
गएको विश्वकपमा बेल्जियम क्वाटरफाइनलमा अर्जेन्टिनासँग १-० ले पराजित भएको थियो । खेलाडी हेर्दा बेल्जियम टिम सन्तुलित देखिन्छ ।
बेल्जियम हरेक खेलाडी हेर्दा राम्रो देखिने र मैदानमा सामान्य हुने टोली पनि हो । विश्वकपको दाबेदारी दिन सक्ने बेल्जियम यसपटक सेमिफाइनलसम्म पुग्ने अनुमान गरिएको छ । यसैले पानामामाथि बेल्जियम हाबी हुने अनुमान गर्न सकिन्छ ।
बेल्जियम र इंग्ल्याण्ड जस्तो राम्रो मानिएको समूहमा पानामा आˆनो पहिलो विश्वकप खेल्दै छ । फिफा वरियतामा ५५ औँ स्थानमा रहेको पानामा अन्तिम छनोट खेलमा कोस्टारिकालाई २-१ ले हराएर विश्वकपमा आएको हो ।
चार लाख जनसंख्या रहेको पानामा विश्वकपसम्म आइपुग्नु नै ठूलो उपलब्धी हो । यस्तोमा राम्रा मानिएका टोलीविरुद्ध चुनौती पेश गर्न सके पानामाको विश्वकप सार्थक हुनेछ ।
बेल्जियमले आफ्नो पछिल्लो १० खेलमा आठ खेल जितेको छ । दुई खेल बराबरी गरेको छ । पनामा भने पछिल्लो १० खेलमा एक खेल मात्रै जितेको छ । दुई खेल बराबरी गरेको छ भने सात खेल हारेको छ ।
बेल्जियमले विश्वकपमा १४ खेल जितेको छ । नौ खेल बराबरी गरेको छ भने १८ खेल हारेको छ । जसमा ५२ गोल गरेको बेल्जियमले ६८ गोल खाएको छ ।
रसिया विश्वकप छनोटको १० खेलमा बेल्जियमले ९ खेल जितेको थियो भने एक खेल बराबरी गरेको थियो । जसमा बेल्जियमले ४३ गोल गरेको थियो भने ६ गोल खाएको थियो ।
पानामाले विश्वकप छनोटमा ३ खेल जितेको थियो । ४ खेल बराबरी गरेको पानामाले ३ खेल हारेको थियो । जसमा ९ गोल गरेको पानामाले १० गोल खाएको थियो ।
स पेरेज – पानामा
पानामाका ब्लस पेरेज अनुभवि खेलाडी हुन् । सन् २००१ देखि पानामाको राष्ट्रिय टोलीमा रहेका ३७ वषर्ीय उनले १ सय १३ खेलमा ४३ गोल गरेका छन् । उनी पानामाका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् ।
फरवार्ड लाइनमा रहेर पनि बल नियन्त्रण गर्ने र खेल मिलाउने उनको शैली राम्रो छ । ग्वाटेमालाको म्युनिसिपल क्लबबाट व्यावसायिक फुटबल खेल्ने उनले राष्ट्रिय टोलीबाट पनि राम्रो प्रभाव पारेका छन् । चार पटक विश्वकप छनोट प्रतियोगितामा सहभागी भएका उनले ११ गोल गरेका छन् ।
मुनिसिपलबाट उनले यो सिजन सिजन १३ गोल गरेका छन् । बेल्जियम र इंग्ल्याण्ड जस्तो राम्रो मानिएको समूह ‘जी’ मा पानामा आˆनो पहिलो विश्वकप खेल्दै छ । जसका लागि पेरेजको अनुभव महत्वपूर्ण छ । उनीमाथि प्रशिक्षक हर्नान डेरियो गोमेजको पनि ठूलो भरोसा रहेको छ ।
इडन हाजार्ड – बेल्जियम
तीब्र र कुशल खेल क्षमता हाजार्डको फुटबल विशेषता हो । गोल गर्न सक्ने र गोलका लागि अवसर सिर्जना गर्न सक्ने दुबै कुरामा उनी पोख्त छन् ।
विश्व फुटबलकै उत्कृष्ट फरवार्ड उनले बेल्जियम टिममा पनि राम्रो प्रभाव पारेका छन् । बेल्जियमलाई विश्वकपसम्म लैजाँदा उनले ६ गोल गरेका थिए । साथै पाँच गोलको अवसर सिर्जना गरेका थिए । सन् २००८ देखि बेल्जियम टिममा रहेका उनले ८३ खेलमा २१ गोल गरेका छन् ।
क्लब फुटबलमा इंग्लिस क्लब चेल्सीबाट प्रभाव जमाइरहेका उनको खेल रसिया विश्वकपमा पनि उत्कृष्ट हुने आशा गरिएको छ ।