दोलखामा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी

 पब्लिक संवाददाता      शनिबार, जेष्ठ १९, २०७५      0

दोलखा १९ जेठ । दोलखामा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको जिल्ला स्तरीय समितिमा निमार्ण भएको छ ।
संयोजक बद्रीकुमार चौलागाईं रहेको जिल्ला स्तरीय समितिको सहसंयोजकमा टिआर दियाली, सदस्यहरुमा डा. राजन लामा (भिमेश्वर नपा), पिआर अविरल (वैत्यश्वर गापा), शिवप्रसाद शिवाकोटी (कालिञ्चोक गापा), केशव शिवाकोटी (भिमेश्वर नपा), सन्तोष रिमाल (वैत्यश्वर गापा), मेलिशा कार्की (तामाकोशी गापा) र शङ्कर शिवाकोटी (कालिञ्चोक गापा) रहेका छन् ।
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल (वैसकपा, नेपाल) निर्माणका लागि बैचारिक, राजनीतिक तथा साङ्गठनिक अभियान समितिलाई दोलखामा जिल्ला स्तरीय एक छुट्टै अभियान समिति निर्माण गरी बिस्तारित गरिएको हो ।
भर्खरै गत वैशाख ३१ गते अर्थात् सन् २०१८ को मे १४ मा कार्ल मार्क्सको द्वीशत वार्षिक जन्मजयन्तीको दिन पारी बाहिर प्रचारमा ल्याइएको हो ।
नेपाली कम्युनिस्ट आन्दोलनमा पछिल्लो समय, खासगरी एमाले र माओवादी केन्द्र मिली एउटै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि ती पार्टी्भित्र र बाहिर, जो अहिलेको नयाँ विश्व परिवेशमा कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले उठाउनुपर्छ भन्ने बिचार राख्नेहरुले बिभिन्न ठाउँ र समूहमा बिचार विमर्श एवं बहस छलफल चलाउन थालेका छन् ।

एमालेले त हिजै मार्क्सवादका आधारभूत सिद्धान्तहरु छाडेको र अहिले माओवादी पनि त्यही बाटोमा हिँड्न थालेको भनी बिचार राख्दै आएकाहरुले एमाले र माओवादी केन्द्र मिली बनेको नेकपालाई मार्क्सवादमा आधारित राजनीतिक पार्टीको रुपमा स्विकारेका छैनन् । यही सिलसिलामा वैसकपा, नेपाल निर्माण भएको बताइन्छ । यो पार्टीले आफूलाई अहिले पूर्ण पार्टीको रुपमा नभई पार्टी बन्नु अघिको राजनीतिक सङ्गठनको स्वरुपमा प्रस्तुत गर्न प्रयत्न गरेको छ ।
वैज्ञानिक समाजवादी र साम्यवादी समाज निर्माणको लक्ष्य बोकेको यस पार्टीले अहिले विश्व अर्थतन्त्रमा उत्पादक शक्तिमा गुणात्मक फड्को लिएको जसमा विज्ञान प्रविधिले मुख्य भूमिका खेलेको निष्कर्ष प्रस्तुत गरेको छ । यस अवस्थामा पुँजीवाद भूमण्डलीकृत भएको र सँगसँगै यो संकटग्रस्त अवस्थामा पनि पुगेको ठहर गरी पूर्वपार्टीको अवस्थामा रहेको सो राजनीतिक सङ्गठनले अहिले वैज्ञानिक समाजवादी क्रान्तिको युग आरम्भ भएको घोषणा गरेको छ ।
वैसकपा, नेपालको निर्माणका लागि गठित अभियान समितिको प्रदेश नं. ३ का संयोजक रेशमराज स्वराज रिमाल (नवीन)को उपस्थितिमा दोलखाको सदरमुकाम चरिकोट बजारमा गत जेठ १८ गते शुक्रवार जिल्ला स्तरीय अभियान समिति निर्माण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।