झापा । विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर फर्किएर आउँदा त्यही घरबाट आफू स्वयं निकालिए । आफ्नै घरबाट निकालिँदा ती पुरुष झस्किए । कारण थियो – उनलाई थाहै नदिई श्रीमतीले ‘डिभोर्स’ गरिसकेकी रहिछिन् । घटना हो झापाको बिर्तामोड नगरपालिका वडा नं ५ को ।
चर्को घाम–गर्मी, भोक–तिर्खा सबै सहेर बाध्यतावश परिवारबाट पर सात समुन्द्रपारि ती पुरुषले बिताएका १९ वर्ष बेकार मात्र भएन जवानी ढल्कियो, रोगले सतायो, जीविकोपार्जनको आधार सारा सम्पत्ति गुम्यो । त्यही पीडाले अन्ततः उनको मृत्यु नै भयो ।
उन्नाइस वर्ष अघि रोजगारीको सिलसिलामा उनी मलेसिया गएका थिए । केही वर्ष मलेसियामा बिताएर घर फर्किएका उनी थप धन कमाउन र परिवारलाई सुखसयलसँग पाल्न भन्दै पुनः इराक पुगे । पछि अफगानिस्तानमा रोजगारीमै रहेका बेला बिरामी परेपछि उनी घर फर्किएका थिए । तर, श्रीमतीले उनलाई आठ वर्ष अघि नै ‘डिभोर्स’ दिएकी रहिछिन् । भएको चल अचल सम्पत्ति श्रीमतीकै नाममा थियो । श्रीमान्सँग ‘डिभोर्स’ गरे पनि उनले श्रीमान्लाई त्यो कुरा सुनाइनन् । श्रीमान्ले विदेशबाट पठाएको सबै सम्पत्ति हात पारेपछि बिरामी अवस्थामा फर्किएका ती पुरुषलाई उनले गलहत्याउँदै घरबाट निकालिन् । त्यो बेला मात्र उनले थाहा पाए श्रीमतीले थाहै नदिई ‘डिभोर्स’ गरेकी रहिछिन् । उनका एक छोरी छन् । उनी आमासँगै बस्दै आएकी छिन् ।
श्रीमतीले गलहत्याएर घरबाट निकालेपछि न्यायको खोजीमा केही दिन अघि उनी बिर्तामोड नगरपालिका आएको नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईले बताए । उनले भने – श्रीमतीका कारण आफू पीडित बनेको भन्दै नगरपालिकाको न्यायिक समितिमा निवेदन दिएपछि हामीले सबै कुरा बुझ्यौं । वास्तबमै उनी पीडित रहेछन् ।
न्यायिक समिति संयोजकसमेत रहेकी प्रसाईंले भनिन् – “यो विषयमा छलफलका लागि प्रक्रिया अघि बढाउनु पूर्व ती पुरुष बिरामी भएकाले उपचारका लागि पठाइएको थियो । उनको त्यही क्रममा मृत्यु भयो ।”
बिर्तामोड नगरपालिका–९ निवासी रिजाल थरका अर्का एक व्यक्तिको पीडा पनि उस्तै छ । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहेका बेला श्रीमान्लाई थाहै नदिई श्रीमती अर्कैसँग गएपछि उनको पनि घर भाँडियो । भएको अचल सम्पत्ति पनि श्रीमतीको नाममा रहेछ । बिर्तामोड नगरपालिकाका उपप्रमुख प्रसाईंले भने – “श्रीमान्ले पठाएको सबै पैसा लिएर उनी सशस्त्र प्रहरीका एक व्यक्तिसँग गएकी रहिछिन् । उजुरी परेपछि उनलाई पक्राउ गरेर आधा सम्पत्ति ती पुरुषलाई दिलायौं ।”
“खोटाङमा कार्यरत सशस्त्र प्रहरीलाई समेत इलाका प्रहरी कार्यालय बिर्तामोडको सहयोगमा पक्राउ गरी छलफलबाटै यो समस्याको समाधान गरेका छौं” – उपप्रमुख प्रसाईंले भने – “मैले भनेका दुईवटा केस प्रतिनिधि घटना मात्रै हुन् । यस्ता उजुरी धमाधम न्यायिक समितिमा आउन थालेका छन् ।”
बिर्तामोडमा मात्र होइन यस्ता उजुरी दमक नगरपालिकामा पनि अधिक मात्रामा परेका छन् । दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका अनुसार पुरुष हिंसाका उजुरी झण्डै दुई दर्जनको हाराहारीमा न्यायिक समितिमा परेका छन् । अधिकांश उजुरी विदेश जाने पुरुषका छन् । कतिपयले मौखिक सल्लाह लिएर विवाद समाधान गरेका छन् भने कतिपयले न्यायिक समितिमै उजुरी दर्ता गराएका छन् । उपप्रमुख अधिकारीले भने – वैदेशिक रोजगारीले समाजमा एकातर्फ राम्रो गरेको छ भने अर्कातर्फ घर परिवार बिगारेको पनि छ ।
दमक नगरपालिकामा श्रीमतीको नाममा जग्गा भएकाहरु धेरै अर्कैसँग हिँडेका उजुरी परेका छन् । “वैदेशिक रोजगारीमा रहेका पुरुष घर फर्किंदा श्रीमती बेपत्ता बनेका र धन सम्पत्ति समेत लिएर हिँडेका उजुरी पर्न थालेसँगै दमकमा पुरुष पनि हिंसामा परेको हामीले पाएका छौं” – उपप्रमुख अधिकारीले भने ।