दोलखा । घरधुरी सर्वेक्षण भीमेश्वर नगरपालिकाले मोबाइल एप्सबाट गर्ने भएको छ । वार्षिक नीति कार्यक्रम तथा बजेट निर्माणमा सहयोग पुर्याउन सहज होस भन्ने उद्देश्यले घरधुरी सर्वेक्षण गर्न लागेको हो ।
आगामी आर्थिक वर्षका लागि का साथ भिमेश्वर नगर भरि मोबाइल एप्सले सर्वेक्षण गर्न थालिएको हो । हिउँदे अधिवेशनको समापन कार्यक्रममा मेयर भरत बहादुर केसीले सो कुरा बताएका हुन ।
मेयर केसीले सुचना सम्प्रेषणलाई समेत सहज बनाउन नगरपालिकाको वेबसाइटसँग तादम्यता राख्ने गरी एप्स छिट्टै नगरवासी सामु ल्याउने कार्य अन्तिम चरणमा पुगेको जानकरी दिए ।
नगरपालिकाको शिक्षा तथा स्वास्थ, कृषि पशुपालन तथा वन, खानेपानी सरसफाइ तथा फोहोर मैला व्यवस्थापन, सिंचाइ सडक तथा अन्य पुर्वाधार निर्माण, पर्यटन तथा स्थानीय उत्पादनमा आधारित उद्योग व्यवसायको विकास र समावेशी विकास जस्ता विविध क्षेत्रमा वस्तुगत योजना तथा कार्यक्रम हुने विश्वासका साथ यस्तो एप्स सञ्चालन गर्न लागेको मेयर केसीले बताए।
चालू आर्थिक वर्षमा १ सय ५५ ओटा योजना बनाइएकोमा १ सय ४७ वटा सम्झौता भएको, ४१ वटा सम्पन्न भइसकेको र बाँकि अधिकांश योजना जेठ मसान्तभित्र सम्पन्न हुनेगरी अघि बढिरहेको केसीले जानकारी दिए ।
नगरपालिकाले आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७४, आधारभूूत सरसफाई तथा फोहोर मैला व्यवस्थापन ऐन २०७४, कृषि तथा पशुपालन सम्बन्धि ऐन २०७४,आर्थिक कार्यविधि ऐन२०७४ र सडक तथा सार्वजनिक मापदण्ड निर्धारण ऐन २०७४ पारित गरिएको छ ।
‘घ’ वर्गको निर्माण व्यवसायी दर्ता नियमावली २०७५, भ्रमण खर्च नियमावली २०७५, नगरपालिकाको राजपत्र प्रकाशन सम्बन्धि कार्यविधि २०७५ र करारमा जनशक्ति राख्ने सम्बन्धि कार्यविधि २०७५ समेत स्वीकृत गरेको छ ।
सामुदायिक बिद्यालय र संस्थागत बिद्यालय बिचको मनोबैज्ञानिक विभेद हटाउन विद्यार्थी भर्ना अभियान संगै सामुदायिक बिद्यालयका कक्षा ५ सम्मका विद्यार्थीका लागि पोशाक वितरण गर्नुका साथै सामुदायिक तथा संस्थागत बिद्यालयको लागि आधारभूत तह उतिर्ण परीक्षाको परिक्षाफल प्रकाशित गर्ने सफ्टवेयर निर्माण गरि सबै बिद्यालयमा एकैनासको लब्धाङ्क पत्र उपलब्ध गराएको मेयर केसीले बताए ।
उनले भने नयाँ शैक्षिक सत्रबाट सबै बिद्यालयमा एकै खालक पोसाकको व्यवस्था गरिएकोछ । शिक्षामा आम तह र तप्कामा चेतना र चासो बढाउने उद्देश्यले वैशाख महिना भित्रै दोलखा शैक्षिक विज्ञान प्रविधि तथा संस्कृतिक महोत्सव गर्ने मेयर केसीले जानकारी दिए ।