युटिएललाई कारबाही

 पब्लिक संवाददाता      आइतवार, चैत्र ४, २०७४      0

काठमाडौं, ४ चैत । टेलिकम क्षेत्रको नियमक  नेपाल दुरसंचार प्राधिकरणले युनिफाइड लाइसेन्स लिएर पनि तोकिएअनुसारको सेवा विस्तार नगरेको भन्दै युटिएललाई कारबाही गरेको छ।

लाइसेन्स लिंदा  पेस गरेको योजनाअनुसार युटिएलले साढे एक वर्ष वित्नै लाग्दा  एक जिल्लामा पनि सेवा विस्तार गरेकाे छैन।

युटिएलले लाइसेन्स लिंदा त्यसकाे शर्तमा उल्लेख भएकाे समयसिमाभित्र सेवा विस्तार नगरेकाेले दूरसंचार एेनअनुसार कारबाही गरिएकाे प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए।

प्राधिकरण संचालक समितिको बैठकले  युटिएललाई तत्काल पाँच लाख रुपैयाँ जरिबाना तिराउने निर्णय गरेको  छ।

युटिएलले २०७३ भदौमा युनिफाइड लाइसेन्स पाएको थियो। लाइसेन्स पाएको पहिलाे वर्ष ४४ र दाेस्राे वर्ष १० जिल्लामा सेवा नेटवर्क विस्तार गर्नुपर्ने शर्त थियाे। तर उसले हालसम्म एक जिल्लामा पनि सेवा विस्तार गरेकाे छैन।

प्राधिकरणले युटिएललाई अबकाे छ महिनाभित्र ५४ जिल्लामा नेटवर्क विस्तार गर्न निर्देशन पनि दिएकाे छ।

यसरी अनुमति पाएर पनि काम नगर्ने युटिएललाई प्राधिकरणले यसअघि २ अर्बको अप्टिकल फाइबर विस्तारको आयोजना अनुदानमा थियो।

प्राधिकरणले यसअिघ लामो समयसम्म पत्राचार गर्दा पनि युटिएलले कुनै प्रतिक्रिया दिएको थिएन।

त्यस्तै स्मार्ट टेलिकमलाई पनि प्राधिकरणले कारबाही गरेको छ। युनिफाइड अनुमति लिएर फोरजी सेवा पनि संचालन गरिसकेको स्मार्टले २०७४ को भदौसम्म बाँकी १८ जिल्लामा सेवा विस्तार गरिसक्नुपर्ने थियो। तर उसले याे बीचमा जम्मा ९ जिल्लामा मात्र नेटवर्क विस्तार गरेकाे छ।

प्राधिकरणले  दूरसंचार एेनअनुसार स्मार्टलाई पनि पाँच लाख रुपैयाँ जरिबाना र अबको ६ महिनाभित्र  ९ जिल्लामा नेटवर्क विस्तार गर्न निर्देशन दिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।