काठमाडौं, ४ चैत । आर्थिक वर्ष २०७४/७५ को पहिलो सात महिनासम्ममा उपलब्ध आर्थिक परिसूचकहरुले नेपाली अर्थतन्त्रको समष्टिगत आर्थिक स्थिति मिश्रित रहने देखाएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले चालु आर्थिक बर्षको माघ महिनासम्मको आर्थिक स्थिति सार्वजनिक गर्दै कृषि क्षेत्रको उत्पादन कम रहे पनि गैरकृषि क्षेत्रमा सुधार आएको जनाएको हो । तराई क्षेत्रमा भएको लगातारको वर्षा तथा डुबानका कारण वर्षे धानको उत्पादनमा असर गरेको छ । हिउँदे वर्षा पर्याप्त हुने सकेन । तसर्थ, कृषि क्षेत्रको उत्पादन वृद्धि अघिल्लो वर्षको तुलनामा कम रहने अनुमान राष्ट्र बैंकको छ ।
गैर कृषितर्फ, उर्जा, निर्माण तथा पुनर्निर्माण एवम् पर्यटन क्षेत्रको गतिविधि अघिल्लो वर्षको तुलनामा राम्रो हुने देखिएको राष्ट्र बैंकले जनाएको छ । केही जलविद्युत आयोजनाहरुको निर्माण सम्पन्न भएकाले औद्योगिक क्षेत्रको क्षमता उपयोगमा वृद्धि भई समग्र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने देखिएको जनाइएको छ ।
त्यसैगरी, नेपालमा आउने पर्यटकको संख्या तथा होटलमा भएको लगानी वृद्धिले समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने पनि जनाइएको छ । सिमेन्ट तथा जलविद्युत उत्पादनका आयोजनाहरुमा प्रत्यक्ष वैदेशिक लगानी बढेको छ ।
उल्लिखित कारणका अतिरिक्त, तीनै तहको निर्वाचन सम्पन्न भई सरकारसमेत गठन भइसकेकाले निजी क्षेत्रको लगानीको लागि सहज वातावरण सृजना भएको छ । यी विकासक्रमकको परिणामस्वरुप २०७४÷७५ मा सन्तोेषप्रद आर्थिक वृद्धिको परिदृष्य रहने देखिएको राष्ट्र बैंकले जनाएको छ ।
२०७४ माघ महिनामा वार्षिक बिन्दुुगत उपभोक्ता मुुद्राफीति दर अघिल्लो वर्षको ३.३ प्रतिशतबाट वृद्धि भई ५.० प्रतिशत पुुगेको छ । हालैका महिनाहरुमा उपभोक्ता मुद्रास्फीति दरमा बढ्ने प्रवृत्ति देखिए तापनि यस वर्षको औसत मुद्रास्फीति वार्षिक प्रक्षेपणभन्दा न्यून नै रहने अनुमान केन्द्रीय बैंकको छ ।
वित्तीय अवस्था केही कसिलो रहिरहेको छ । बढ्दो चालू खाता घाटासँगै समग्र शोधनान्तर स्थिति ऋणात्मक रहेका कारण विदेशी मुद्रा सञ्चितिमा केही कमी आएकोले वित्तीय अवस्था कसिलो भएको हो ।
आगामी दिनमा सरकारी खर्चमा आउने वृद्धिले विद्यमान वित्तीय अवस्थामा सुधार हुँदै जाने पनि राष्ट्र बैंकको विश्लेषण छ ।