काठमाडौं । सरकारमा जाने पक्का–पक्की गर्न बसेको संघीय समाजवादी फोरमको पदाधिकारी बैठक सरकारसँग निर्णायक वार्ता गर्ने निष्कर्ष निकालेर टुंगिएको छ ।
बैठकमा सहभागि नेता रामसहाय यादवले अहिलेसम्म सरकारमा जाने कुरा नै टुंगिएको छैन, भनेका छन् । हाम्राकुरासँग उनले भने, ‘संविधान संशोधनका विषयमा सरकारसँग थप छलफल गर्ने र संशोधनबारेको वार्ता निष्कर्षमा पुगे पार्टीमात्रै सरकारमा जाने, नजाने कुरा अर्को बैठकले गर्ने कुरा भयो ।’ मन्त्री छान्ने विषयमा भएको छलफलबारे भने उनले धेरै भनेनन् । सरकारसँगको वार्ता निकर्षमा पुगिसकेको छैन, उनले भने, ‘सरकारमा जाने कुरा पक्का भएपछि अर्को बैठकले मन्त्री चयन गर्नेछ ।’
फोरमबाट सहमागि हुने मन्त्रीको टुंगो लाग्न नसकेकै कारण थएको शुक्रबार भएको मन्त्रिपरिषद विस्तारमा फोरम अटाएन । आकांक्षीको व्यवस्थापन गर्न भनि बसेको पदाधिकारी बैठक समेत निर्णय नगरी टुंगिएको छ । नेता यादवका अनुसार छलफल यति उति घण्टा भन्ने भएन, लामै चल्यो । मन्त्रीको नाम भने टुंगिएन ।
फोरमभित्र मन्त्री छनोटमा विवाद भएको सुन्नमा आएको छ । फोरमले पाएको दुई मन्त्रालयमा आकांक्षी धेरै देखिएपछि त्यसलाई व्यवस्थापन गर्न पार्टी पदाधिकारीलाई हम्मे परेको छ ।
सरकारसँगको सहमति अनुसार फोरमले स्वास्थ्य र शहरी विकास मन्त्रालय पाउनेछ ।
शहरी विकास मन्त्रालय लिएर सरकारमा जान पार्टी अध्यक्ष उपेन्द्र यादवले समेत इच्छा देखाएको बताइन्छ । अर्कोतिर सह–अध्यक्ष राजेन्द्र श्रेष्ठको नाम आउने वित्तिकै अन्य नेताहरु उफ्रिन थालेका छन् । महिलातर्फ पनि आकांक्षीको त्यस्तै फाइट परेको सुनिन्छ ।