
कोलम्बो, चैत ४ । श्रीलंकामा मुस्लिम समुदायविरुद्ध हिंसा चर्किएपछि लगाइएको आपतकाल हटाइएको छ ।
गत मार्च ६ बाट शुरु भएको अनिश्चितकालीन आपतकाल शुरु हुनु अघिको हिंसामा दुई जनाको मृत्यु हुनुका साथै सयौं घाईते भएका थिए ।
मध्य श्रीलंकाको क्याण्डी शहरमा ४ सय ५० भन्दा बढी घर र पसलहरुमा क्षति पुर्याइएको थियो । दर्जनौं सवारी साधन जलाइएका थिए ।
तनाब बढ्न नदिन भन्दै कर्फ्यू लगाउनुका साथै सामाजिक सञ्जालहरु बन्द गरिएको थियो । ३ सय भन्दा बढी मानिसलाई पक्राउ गरिएको छ ।
सिंहला बौद्धमार्गीहरुले स्थानीय मस्जिद र मुसलमानहरुले सञ्चालन गरेको व्यापारिक क्षेत्रमा आक्रमण गरिएको थियो । श्रीलंकाको लोकप्रिय पर्यटकीय गन्तव्य क्यान्डीमा ट्राफिकसम्बन्धी विवादका क्रममा मुसलमानहरूको कुटपिटबाट एक जना बौद्धमार्गीको मृत्यु भएपछि हिंसा शुरु भएको थियो ।
बौद्धमार्गीहरुको बाहुल्य रहेको श्रीलंकामा सन् २०१२ यता जातीय हिंसा भइरहेको छ । यहाँ करिब ९ प्रतिशत मुसलमान छन् ।