
काठमाडौं । यातायात व्यवस्था विभागले वहिबारबाट २० वर्ष पूराना सार्वजनिक सवारी साधन चलेको देख्यो कि भटाभट समात्ने छ ।
२० वर्ष पूरा सवारी साधन चलाउन रोक लगाउने नियम विभागले विहिबार (चैत १ बाट) अभियानकै सुरु गर्दै छ । यो नियम लगाइसकेपछि पनि पूराना सार्वजनिक अर्थान् भाडाका सवारी बाटोमा कुदेको देखे ठाउँकोठाउँ कारबाही हुन्छ । त्यति मात्रै होइन विभागले विहिबारबाटै देशभर एक साथ अनुगमनकर्ता खटाउँदै छ ।
फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसीस नम्बर’ विभागमा बुझाउन सवारीधनीलाई यसअघि नै भनिएको थियो । विभागले सरकारले गरेको निर्णय टार्न नमिल्ने भन्दै विहिबारबाटै लागु हुने भनिसकेको छ । तर, यातायात व्यवसायीले गाडि गुडाउने भनेका छन् । जसले सरकार र व्यवसायीबीच फाइट पर्ने देखिएको छ ।
वुधबार बसेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रीय कार्यसमितिको बैठकले सरकाले निर्णयमा पुनःविचार गर्नु पर्ने भनेको छ । बैठकपछि महासचिव सरोज सिटौलाले भने, ‘हामीले सरकारले निर्णयमा पुनःविचार गर्नु पर्ने भनेका छौँ । एक लौटी गरेको निर्णय हामी मान्दैनौँ । गाडी चलाउँछौँ । हामीले चल्नसक्ने गाडी चलाउने र नचल्ने गाडी बन्द गर्ने भनेकै छौँ । छलफलमा बोलाएर आपसी सहमतिमा वैज्ञानिक ढंगले व्यवस्थापन गर्नु पर्छ भनेका छौँ ।’ सरकारले त्यसो गरेन भने हामी गाडी चलाउँछौँ ।
विभागका सूचना अधिकारी तुलसीराम अर्यालले सरकारले गरेको निर्णय आफुहरुले नकार्न नमिल्ने बताए । उनले भने, ‘व्यवसायीले जे भनेपनि विहिबारबाट नियम लागू हुन्छ । देशभर हाम्रो यातायात कार्यालय भएको ठाउँमा हाम्रा मान्छे र नभएको ठाउँमा ट्राफिकले अनुगमन गर्छन् । पूराना गाडि भेट्नासाथ समाइन्छ ।’
उनले काठमाडौमा मात्रै चार ठाउँमा टोली खटिने जानकारी दिए । उनले भनेका छन्, ‘यो चैत महिनाभरी अभियानकै रुपमा रहन्छ । व्यवसायीले हामीलाई निर्णयबारे केही जानकारी गराएका छैनन् । नियम एक लागू हुन्छ, दुई लागू हुन्छ ।’ उनका अनुसार नियम उल्लंघन गरे ५ हजार ठाउँको ठाउँ जरिवाना लाग्नेछ ।
उनले अब त्यो पूराना गाडिको अनुमति नविकरण पनिहुँदैन भनेका छन् । केहीदिन अघि विभागका महानिर्देशक रुपनारायण भट्टराईले,‘चैत १ गतेदेखि २० वर्ष पुराना सवारी सडकमा गुडे ‘सीज’ गरी सरकारले लिलाम गर्छ, यसैले फागुन मसान्तसम्म पुराना सवारी व्यवस्थापनको सबै काम सक्न व्यवसायीलाई अनुरोध गरिएको छ’ भनेका थिए ।
सरकारले देशभर गुड्ने २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटनामा समेत बढ्न थालेपछि चैतदेखि हटाउने निर्णय गरेको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गरी चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको छ । विभागले गतवर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो । विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधनभने गुड्न दिइने जनाएको छ ।