तेल पाइपलाइन निर्माणका लागि पाइप नेपाल आउने क्रम सुरु

 पब्लिक संवाददाता      बिहिबार, माघ ११, २०७४      0

काठमाडौं, ११ माघ। बहुप्रतिक्षित अमलेखजन्ज–रक्सौल–मोतीहारी तेल पाइपलाइन निर्माणका लागि पाइप नेपाल आउने क्रम सुरु भएको छ।

वीरगन्ज भन्सार कार्यालयबाट पहिलो लटका आधा दर्जन गाडीले ल्याएका कालो स्टिल पाइप मंगलबार जाँच गरिएको छ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवका अनुसार पाइप लाइन परियोजना निर्माणको जिम्मा पाएको इन्डियन आयल कर्पोरेसनले पाइप बोकेका आधा दर्जन लरीको जाँच गराएको छ । सबै पाइप बिनाभन्सार शुल्क जाँच गरी पठाइएको उनले बताए। ‘नेपाल र भारतबीचको दुई देशीय सम्झौताअनुसार यो नाकाबाट भित्रिने पाइपलाइन निर्माणमा प्रयोग हुने सामानमा भन्सार शुल्क लाग्दैन,’ यादवले भने, ‘अर्थ मन्त्रालय र भन्सार विभागले यस सम्बन्धमा आपसी समन्वय गरेका छन्।’

पहिलो लटमा २ हजार ७ सय २४.२३ मिटर पाइप जाँचका लागि कार्यालयमा निर्देशन आएको उनले बताए । मंगलबार १ करोड २९ लाख ६८ हजार भारतीय रुपैयाँ (भारु) बराबरको पाइपको जाँच गरिएका छ । यो लटमा १ करोड ६६ लाख भारु बराबरको पाइपको जाँच गर्ने निर्देशन रहेको र बाँकी पाइपसम्बन्धी निर्देशन क्रमशः आउने उनले बताए ।

भारत महाराष्ट्रको सिमलेस लिमिटेडमा उत्पादित पाइप यो परियोजनामा प्रयोग गरिँदै छ। वीरगन्ज भन्सार पारि जाँच्ने प्रक्रियाका लागि थप ७ वटा पाइप बोकेका लरीहरू प्रतीक्षारत छन्। तीमध्ये एक लरीका चालक शिव कुमारले आफूहरू मुम्बईस्थित पाइप उद्योगबाट जनवरी १४ तारेखबाट नेपालका लागि हिँडेको बताए। –कान्तिपुर दैनिकबाट

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।