राष्ट्रियसभामा मधेसी दल र कांग्रेसबीच सहकार्य, कसलाई कति सीट?

 पब्लिक संवाददाता      मङ्लबार, माघ ९, २०७४      0

काठमाडौं ९ माघ– राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर २ मा नेपाली कांग्रेस, राष्ट्रिय जनतापार्टी र  संघीय समाजवादी फोरम बिच तालमेल हुने निश्चित भएको छ।दिनभरी  वाम गठबन्धनसँग तालमेलका लागि छलफल गरेर सहमति नजुटेपछी दुई मधेसवादी दल कांग्रेससँग तालमेल गर्न गएका हुन्।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार, बबरमहलमा मंगलबार साँझ बसेको  तीनदलको बैठकले तालमेलका लागि सहमति जुटाएको हो। प्रदेश २ मा ८ सिट मध्ये कांग्रेसलाई २, फोरमलाई २ र राजपालाई २ सिट बाँड्ने सहमति भएको उनले बताए।

‘हाम्रा तीन नेता रामशरण महत,ज्ञानेन्द्र बहादुर कार्की र मिनेन्द्र रिजाल दुई दलसँग कुरा गर्न जानुभएको थियो। सहमति गरेर भर्खरै बालुवाटार फर्किनुभएको छ,’ उनले भने, ‘प्रदेश नम्बर २ मा हामी ३ दल मिलेर जित्ने  ६ सिट नै हो त्यसैले २/२ सिट बाँड्ने सहमति भएको हो।’

राजपा र फोरमको उपस्थिति राम्रो भएका प्रदेश नम्बर ५ र ६ मा उनीहरुले नै कांग्रेसलाई सघाउने अनौपचारिक सहमति भएको पनि शर्माले जानकारी दिए।

फोरमका अध्यक्ष उपेन्द्र यादवका प्रेस सल्लाहकार महेश चौरासियाले कांग्रेसले २, फोरम र राजपाले ३/३ उम्मेदवार उठाउने सहमति गरेको जानकारी दिए।

प्रदेश नम्बर २ मा वाम गठबन्धनले २ सिट जित्नेभएकाले पनि काँग्रेसले ६ सिटका लागि मात्र तालमेल गरेको कांग्रेसकै एक नेताले बताए।

‘ती दुई सिटमा पार्टीहरुले आफ्ना-आफ्ना निर्णय गर्न सक्नेछन्। हामीले जित्ने सिटका लागि मात्र मधेसवादी दलसँग सहमति गरेको हो,’ ति नेताले भने।

फोरम नेता केशव झाले पनि राजपा,फोरम र काङ्ग्रेस बीच राष्ट्रिय सभा सदस्यको लागि दुई-दुई सिट बाँडफाँड गर्ने सहमति भएको  भन्दै फेसबुकमा स्टाटस लेखेका छन्।

प्रतिनिधिसभा निर्वाचनमा पनि यी तिनै दलले तालमेल गरेका थिए। भोलि बुधबार राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी मनोनयन हुने कार्यसूची छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।