प्रदेशमा डेरा खोज्दै सांसद, कार्यालय खोज्दै कर्मचारी

 पब्लिक संवाददाता      मङ्लबार, माघ ९, २०७४      0
फाईल तस्बिर

काठमाडौं,९ माघ । शपथग्रहण सकिँदा नसकिँदै गुल्मीका सांसद सुदर्शन बलाललाई चिन्ताले सतायो/डेरा कहाँ खोज्ने।

संसद् बैठक छिट्टै बस्नेवाला छ। साथीको घरबाटै काम चलाइरहेका यी माननीय केही दिनभित्रै डेरा खोजेर सर्ने तयारीमा छन् ।

‘बुटवलमै दुई(चारवटा फ्ल्याट हेरेँ, निकै महँगो रहेछ’, सोमबार प्रदेश प्रमुखको कार्यालयमा भेटिएका बलालले भने, ‘नयाँ गाउँ÷बेलबासतिर गएर फ्ल्याट लिँदै छु।’

संसद् बैठक सुरु भएपछि केही दिन बिदा नमिल्ने भएकाले पनि बाहिरी जिल्लाका सांसदलाई आवास अनिवार्य छ।

नवलपरासी, कपिलवस्तु र पाल्पासम्मका सांसद घरबाटै आउजाउ गर्नसक्ने सम्भावना भए पनि बुटवलमै बस्ने गरी डेरा खोज्दै छन् । बुटवलमा काठमाडौंमा जस्तो सहजै फ्ल्याट नपाइएको सांसदहरू बताउँछन्।

बुटवल अस्थायी मुकाम हो। संसद्को दुईतिहाइ मतले मात्रै स्थायी मुकामको टुंगो लाग्छ।तर, धेरैजसो सांसद अब स्थायी केन्द्र पनि बुटवलमै हुने विश्वाससाथ बसोवासको व्यवस्था गर्दै छन्। प्रत्यक्ष र समानुुपातिक गरी रुपन्देहीका २० जनाबाहेक ६७ जनाका लागि बुटवलमा डेरा आवश्यक छ।

कार्यालय खोज्दै कर्मचारी

प्रदेश प्रमुखका लागि सचिवालय व्यवस्थापन भए पनि अन्य प्रशासनिक भवनको अझै टुंगो लागिसकेको छैन।

जिल्ला प्रशासन, भवन डिभिजनलगायत कार्यालयका प्रमुखहरू प्रदेशका लागि आवश्यक पूर्वाधार जुटाउनमै व्यस्त छन्।

प्रदेश सचिव सनत डुवाडीले प्रदेश प्रमुखको आवाससहित थप कर्मचारी आएपछि कार्यालय व्यवस्थापन प्रक्रिया चलिरहेको बताए।

स्थानीय प्रशासनको सरसल्लाहमा भवनको व्यवस्थापन हुँदै छ’, उनले भने, ‘कर्मचारी आइपुग्दासम्म व्यवस्था मिल्छ।’

मुख्यमन्त्री र संसद्को कार्यालय व्यवस्थापन अझै भइसकेको छैन । प्रदेश प्रमुख उमाकान्त झाका लागि भने रुपन्देही व्यापार संघको भवन प्रयोग गरिएको छ तर आवास व्यवस्थापन भएको छैन।

बुटवलमै रहेको सडक डिभिजनको अतिथि कक्षमा प्रदेश प्रमुख झा र सचिव दवाडी बसिरहेका छन्।

पहिलो बैठकको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेल भने निजी निवासमै छन्। -अन्नपूर्णपोष्ट दैनिकबाट

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।