
काठमाडौं ६ माघ। ‘मरे तो मुक्ति जिए त मधेस’ यो भनाइ राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको हो।
राजधानीको बिजुलीबजारदेखि बबरमहलका कार्यालयका भित्तामा मात्रै होइन, मधेसका अधिकांश पार्टी कार्यालयमा यो नारा पोतिएको छ । मधेस आन्दोलन र निर्वाचनअघि उनी यो भनाइमा प्रभावित रहेर मधेसी जनताका पक्षमा लड्दै आए पनि राज्यको सेवा सुविधा लिने मामिलामा भने परिवारबाहिर नजानेमा उनै ठाकुर अब्बल देखिएका छन्।
अध्यक्ष ठाकुरले सम्धी(सम्धिनीप्रति राखेको मोह भने बुझिनसक्नु रहेको राजपाका नेताहरु बताउँछन्।जतिपटक अवसर आउँछ, उनले आफ्नो कोटाबाट उतिपटक सम्धी सम्धिनीलाई अवसर दिन छुटाएका छैनन्।
उनको कोटाबाट अहिलेसम्म राज्यका उपल्ला निकायमा सहिद परिवारजनले अवसर पाएका छैनन्।यसपटक पनि अध्यक्ष ठाकुरले प्रदेश ५ को प्रमुखमा सम्धी उमाकान्त झालाई नियुक्त दिलाउन सफल भएका छन्।उनकी सम्धिनी इन्द्रा झा राजपाबाट समानुपातिकतर्फको सूचीको तेस्रो नम्बरमा छिन्। क्रमसंख्याको आधारमा चयन गर्ने हो भने इन्द्रा झा राजपाबाट संसदमा जाने सुनिश्चित छ । -नागरिक दैनिकबाट