काठमाडौं ६ माघ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय नेपालका सात प्रदेश प्रमुखलाई शपथ खुवाउने क्षणलाई क्यामेरामा सुरक्षित गर्न व्यग्र प्रतीक्षारत थियौं, हामी संवाददाता र फोटोपत्रकार । शुक्रबार शीतल निवासको दक्षिणी ढोकामा पत्रकारको भीड यसै ऐतिहासिक क्षणका लागि थियो । आजको अन्नपूर्ण पोस्टमा छ ।
अपराह्न ३ बजेपछि पत्रकारको परिचयपत्र र शरीर जाँचपछि सैनिक निगरानीमा हामीलाई राष्ट्रपति भवनको सञ्चार कक्षसम्म पुर्याइयो । लामा लेन्स र क्यामेरा बोकेका पत्रकार कार्यक्रम सुरु भएपछि कार्यक्रम स्थलमा लगिने आश्वासन कार्यालयका अधिकारीको थियो ।
शीतल निवासमा प्रधानमन्त्रीको कारकेड प्रवेशसँगै मंगल धुन बज्न थाल्यो । हलमा कार्यक्रम सुरु भएपछि एक सैनिक अधिकारी आएर रेडियो नेपाल, रासस, गोरखापत्र र नेपाल टीभीका पत्रकार भित्र लगे । अनि निजी सञ्चार माध्यमका पत्रकारलाई फर्कन आदेश दिए ।
सक्रिय राजतन्त्रकालमा समेत नारायणहिटी दरबारका औपचारिक समारोहहरूमा पत्रकारलाई निषेध थिएन । दौरा सुरुवाल लगाउनुपर्ने सर्त पालना गरेपछि पत्रकारले निर्वाध समाचार र दृश्य संकलन गर्न पाउँथे । त्यससमय पनि यी रासस, गोरखापत्र आदि सरकारी मिडिया नभएका होइनन् तर अहिलेजस्तो स्वतन्त्र मिडियामाथि प्रवेशको प्रतिबन्ध थिएन ।
आमसरोकारका विषय सुसूचित गर्ने दायित्व लिएको हुनाले नै पत्रकारितालाई चौथो अंग मानिएको हो । तर, यो विश्वव्यापी मान्यता उपेक्षा गरी हरेक गतिविधिको समाचार हामी आफैं दिन्छौं भन्नु सेन्सरसिपको नमुना हो । शीतल निवासको यस्तो रवैया लोकतान्त्रिक गणतन्त्रमा अपेक्षित छैन ।
पत्रकारहरू यो ऐतिहासिक घटनाको समाचार संकलन गर्न दिन अनुरोध गरी नै रहे । तर, सैनिक अधिकारीले ‘माथिको आदेश’ भन्दै पत्रकारलाई एकाएक बाहिर निकाले । पत्रकारले ढोकामा क्यामेरा राखेर सरकारी रवैयाको विरोध पछि आ-आफ्नो कार्यालय फर्के ।
राष्ट्रपति कार्यालयले स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप मात्रै गरेको छैन । कार्यस्थलमा लामो समय कुराउने र अनावश्यक रूपमा शरीरको खानतलासी गरी कार्यक्रम स्थलसम्म पुर्याएर फर्काउँदै अपमान गरेको छ ।