चरिकोट ५ माघ। तामाकोसी गाउपालिका वडा नं -१ का अध्यक्ष महेश्वर काफ्लेले सोही वडाका दुई दृष्टिबिहिन बालकहरुलाई एक मुस्ट १३ हजार ७ सय ७५ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
सदरमुकाम चरिकोट स्थित कालिञ्चो उच्च माविको प्रांगणमा आयोजित एक कार्यक्रममा, आज उनले आफ्नो भत्ता बापतको रकम ८ हजार ७ सय पचहत्तर रुपैयाँ र सानु शेर्पाको पाँच हजार रुपैयाँ थप गरि सहयोग रकम प्रदान गरेको हो।
शेर्पा तरुण दलको स्वयंसेवी नेता हुन,हाल अमेरिका बसोबास गर्दै आएका छन्।
विभिन्न तालिम गोष्ठीबाट आफूलाई भत्ता स्वरुप प्राप्त भएको रकम, बिपन्न दृष्टिबिहिन बालबालिकाको अध्ययनका लागि सहयोग गरेको अध्यक्ष काफ्लेले जानकारी दिए।
तामाकोसी गाउँपालिका वडा नं-१ माझिगाउँका शंकर माझिका दृष्टिबिहिन दुई छोराहरु कक्षा ३ मा पढ्ने सुरेन्द्र माझी र कक्षा २ मा पढ्ने राजेन्द्र माझी जन्मजातै दृष्टिबिहिन हुन्। आफुहरु दुईवटै आँखा नदेख्ने भएपनि अवसर पाए भविश्यमा संगित सिकेर गाएक बन्ने लक्ष्य रहेको बालकहरुले बताएका छन्।
उक्त रकमले उनिहरुलाई संगित कक्षामा भर्ना गर्ने उनका बुबाले जानकारी दिए। पाँच सन्तान रहेको माझीको आर्थिक अवस्था दयनीय छ।माछा मारेर जीवन धानेका यी माझीका दुई छोराहरु केही वर्ष यता चरिकोट स्थित कालिञ्चोक उच्च माविले सञ्चालन गरेको समाहित छात्रबास बसेर पढ्दै आएका छन्।
अध्यक्ष काफ्लेले उनिहरुको सपना साकार गर्न अन्य धेरै सहयोगी हातहरु उत्सुक भएकाले निरन्तर सहयोग जुटाउन आफु लागि पर्ने बताएका छन् ।