कास्की, ५ माघ। कास्कीको सिक्लेसमा निर्माण भएको १३ मेगावाट क्षमताको सिक्लेस जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सफल भएको छ । करिब दुई महिना परीक्षण उत्पादन भएको आयोजनाको विद्युत् दुई साताभित्रै राष्ट्रिय प्रसारणलाइनमा जोडिने कम्पनीका अध्यक्ष सूर्यबहादुर केसीले जानकारी दिए।
उत्पादित विद्युत् आयोजनास्थलबाट करिब २५ किलोमिटर टाढा रहेको पोखरा–लेखनाथ महानगरपालिका–३२ बुढीबजारस्थित १ सय ३२ केभिए प्रसारणलाइनको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारणलाइनमा जोडिनेछ ।
सिक्लेस हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रालिले कास्कीको मादी गाउँपालिका–१ सिक्लेसस्थित मड्क्युमा निर्माण गरेको आयोजना करिब ४ वर्षमा सम्पन्न भएको हो । भूकम्प र नाकाबन्दीका कारण आयोजना निर्धारित समयभन्दा १ वर्ष ढिलो निर्माण सम्पन्न भएको केसीले जानकारी दिए ।
‘रन अफ रिभर’ आयोजनाअन्तर्गत कास्कीको पार्चे र नामार्जुङको सीमा भएर बग्ने मड्क्यु खोलामा बाँध बनाएर जम्मा गरिएको पानीलाई आरसिसी बक्स च्यानल र पेन स्टेक पाइपमार्फत करिब तीन किलोमिटर तल मड्क्युमा निर्माण गरिएको पावर हाउसमा झारिएको छ ।
पावर हाउसमा रहेको ६.५ मेगावाट क्षमताका दुई टर्बाइनमार्फत विद्युत् उत्पादन गरिएको छ । आयोजनाको लागत २ अर्ब ३३ करोड पुगेको अध्यक्ष केसीले जानकारी दिए । आयोजनामा केसी परिवार, बतास अगनाइजेसन, सेलवेज ग्रुप, केही एनआरएन र स्थानीयले लगानी गरेका छन् ।